काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशका सांसद पदमुक्त भइसकेको भनेर प्रचार नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
शाहीले बागमती प्रदेशका सांसदलाई कारबाही गर्न पार्टीले प्रदेशसभा सचिवालयमा निवेदन मात्र दिएको भन्दै निवेदन बुझाउँदैमा सांसद पदमुक्त नहुने स्पष्ट पारेका हुन्।
‘राप्रपाका सम्पूर्ण नेता तथा कार्यकर्ताज्यूहरूलाई मेरो अपिल। बागमती प्रदेशका सांसद पद्मुक्त हुनुभएको छैन,’ उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘उहाँमाथि कारबाहीका लागि पार्टीले बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र बुझाएको हो। निवेदन बुझाउँदैमा सांसद पदमुक्त हुँदैन’
उनले सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार सम्बन्धित निकायबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म सांसद पदमुक्त भएको भनेर समाचार बनाउनु र प्रचार गर्नु उचित नहुने बताएका छन्।
‘सभामुखबाट औपचारिक निर्णय वा कानुनी प्रक्रियाअनुसार निर्वाचन आयोगबाट पदमुक्त भएको औपचारिक घोषणा नभएसम्म पनि पदमुक्त भएको भनेर प्रचार गर्नु उचित हुँदैन। सम्बन्धित निकायबाट पदमुक्त भएको घोषणा नभएसम्म उहाँलाई पदमुक्त भयो भनेर समाचार बनाउनु र देशभर गलत सन्देश फैलाउनु कत्तिको जायज हो?’ भन्दै शाहीले प्रश्न गरे।
पार्टीका आधिकारिक व्यक्ति तथा जिम्मेवार नेताहरूले नै तथ्य नबुझी गलत सूचना फैलाउन थाले पार्टी कसरी बलियो बन्न सक्छ भन्ने प्रश्नसमेत उनले उठाए।
शाहीले पार्टीले आफ्ना सांसदलाई कारबाही गर्न सक्ने भए पनि कारबाहीका लागि निवेदन दिँदैमा सांसद पद स्वतः समाप्त नहुने दोहोर्याएका छन्। साथै, सम्बन्धित सांसदहरू जनताबाट प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूको पदको आधार जनताको मत भएको उनले उल्लेख गरेका छन्।
‘पार्टीले कारबाही गर्न सक्छ, तर कारबाहीको निवेदन बुझाउँदैमा सांसद पदमुक्त भएको मानिँदैन। अझ महत्वपूर्ण कुरा- उहाँहरू जनताबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ, उहाँहरूको पदको आधार जनताको मत हो,’ शाहीले भने, ‘त्यसैले भावनामा होइन, तथ्यमा बोलौँ। गलत सूचना होइन, सत्य कुरा प्रचार गरौँ।’
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया