काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौं उपत्यका मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
आज बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग जतिसक्दो छिटो भेटघाटको समय मिलाई उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार तथा फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापनलगायत विषयमा छलफल गर्ने निर्णय गरेको हो।
बैठकले यही भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत घोर आपत्ति जनाएको छ। उक्त विषयमा पनि प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराउने फोरमले जनाएको छ।
उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका प्रमुख रहँदादेखि नै फोरमले छलफल गर्दै आएको जनाएको छ। तत्कालीन सरकार र नेप बेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सम्झौता खारेज गरी फोहोर व्यवस्थापनका लागि नयाँ बाटो खुला गर्ने विषयमा फोरमका बैठकहरूमा पटक–पटक छलफल हुँदै आएको फोरमले जनाएको छ।
फोरमले उपत्यकाको फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको जनाएको छ। फोहोर व्यवस्थापनलाई व्यवस्थित र दीर्घकालीन बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको फोरमको निष्कर्ष छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया