काठमाडौं । आगामी अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा आयोजना हुने पिकलबल विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरिएको छ ।
मंगगलबार एक कार्यक्रम आयोजना गरेर पिकलबल एसोसिएसन नेपालले विश्वकपमा १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षभन्दा माथिको सिनियर क्याटेगोरी खेल्ने खेलाडी घोषणा गरेको हो ।
नेपालको सिनियर टोलीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान छन् । ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी (कप्तान), सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्ष्या राना, सञ्जील कन्साकार र किरण खनाल छन् ।
नेपालले विश्वका विभिन्न देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै पिकलबलमा आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप बलियो बनाउने लक्ष्य राखेको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख अमेरिकी डलर रहेको छ ।
पिकलबल र्याकेट खेल हो, जुन टेनिस, ब्याडमिन्टन र टेबल टेनिसको मिश्रणजस्तै देखिन्छ । यस खेलमा प्याडल र प्वाल भएको हल्का प्लास्टिकको बल प्रयोग गरिन्छ र टेनिसको तुलनामा सानो कोर्टमा नेट राखेर खेलिन्छ । पिकलबल एकल वा दुई–दुई जनाको टोली बनाएर खेल्न सकिन्छ ।
नियम तुलनात्मक रूपमा सरल र खेल्न सजिलो भएकाले यो खेल विशेषगरी अमेरिका हुँदै पछिल्लो समय विश्वभर लोकप्रिय बन्दै गएको छ । शारीरिक सक्रियता, मनोरञ्जन र सामाजिक सहभागिताका लागि पनि पिकलबललाई उपयुक्त खेल मानिन्छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया