सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला पुलनजिक मंगलबार एक महिलाको शव फेला परेको छ।
स्थानीयले पुलनजिक महिलाको शव देखेपछि मंगलबार दिउँसो करिब १२ बजे प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी सहायक निरीक्षक पुष्करप्रसाद घिमिरेको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार घटनास्थलमा करिब ४५ वर्ष उमेरकी देखिने महिलाको शव घोप्टो अवस्थामा फेला परेको हो। मृतक महिला तराई मूलकी जस्तो देखिए पनि उनको पहिचान भने खुल्न सकेको छैन।
घटनाको प्रकृति र कारणबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ।
सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले महिलाको शव फेला परेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार मृतकको पहिचान खुलाउने प्रयाससमेत भइरहेको छ।
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया