काठमाडौं । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणलाई लिएर गायिका ज्योति मगरले गृहमन्त्रीमाथि प्रश्न उठाएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मगरले गरिमाका आमाबुबासँग गृहमन्त्रीले गरेको भेटघाटलाई ‘पब्लिसिटी स्टन्ट’को संज्ञा दिएकी हुन्। उनले उक्त भेटको भिडियो सामाजिक सञ्जालमा देखेपछि आफू दुःखी भएको बताएकी छन्।
मगरले गरिमामाथि भएको जघन्य अपराधपछि देशभरका आमा, छोरी र चेली न्यायको पर्खाइमा रहेको अवस्थामा पीडित परिवारसँग गरिएको भेटलाई प्रचारको माध्यम बनाइएको आरोप लगाएकी छन्।
‘तीन वर्षकी बालिकामाथि भएको त्यो जघन्य अपराधले सारा देशका आमा, छोरी र चेली रोइरहेका छन्, सारा देश न्याय मागिरहेको छ,’ उनले लेखेकी छन्, ‘त्यही बेला काख रित्तिएका विवश आमाबुबालाई एउटा कोठाको सोफामा राखेर क्यामरा तेर्स्याई आफू भुईँमा बसेर गृहमन्त्रीले पब्लिसिटी स्टन्ट गरेको देख्दा म निःशब्द भएँ।’
मगरले भेटका क्रममा गरिमाका आमाबुबाले ‘हामी खुसी छौँ’ भनेको प्रसंगप्रति समेत प्रश्न उठाएकी छन्। उनीहरूलाई अरूले सिकाएका शब्द दोहोर्याउन लगाइएको जस्तो आफूलाई लागेको उनको भनाइ छ।
‘झन् धेरै मुटु त्यतिबेला दुख्यो, जब ती बालिकाका बाबुआमाले “हामी खुसी छौँ” भन्दै क्यामरामा हाँसे र जानी–नजानी पछाडिबाट सिकाइएका शब्दहरू दोहोर्याउने प्रयास गरे,’ उनले लेखेकी छन्।
मगरले महिला तथा युवतीको चरित्रमाथि सामाजिक सञ्जालमार्फत हुने आक्रमणप्रति समेत असन्तुष्टि जनाएकी छन्। महिलाको स्वाभिमान र चरित्रमाथि निरन्तर प्रहार भइरहँदा न्याय प्रणाली मौन रहेको उनको टिप्पणी छ।
‘यता प्रत्येक पल सामाजिक सञ्जालबाट म जस्ता हजारौँ–लाखौँ नारीको स्वाभिमान र चरित्रको बलात्कार गरिन्छ, तर पनि न्याय चुपचाप छ, मौन छ,’ उनले लेखेकी छन्, ‘ठ्याक्कै यही कालो रातजस्तै।’
प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार













प्रतिक्रिया