इलाम । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि तीखो व्यंग्य गर्दै उनलाई ट्राफिक नियम पालना नगर्ने एम्बुलेन्स चालकसँग तुलना गरेका छन्।

इलाम नगरपालिका–५ बरबोटेमा आयोजित पार्टीको ‘जनहातेमालो’ कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले जनताले अमूल्य मत दिएर देश सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री शाहलाई सुम्पिए पनि उनले विधि र कानुनलाई बेवास्ता गर्दै स्वेच्छाचारी ढंगले राज्य सञ्चालन गर्न खोजेको आरोप लगाए।

उनले प्रधानमन्त्री शाहले देशको नेतृत्व गर्दा प्रचलित नियम–कानुनको अनिवार्य पालना गर्नुपर्ने बताए। ‘नागरिकले देशकै चाबी बालेनको हातमा दिए। तर, ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ,’ उनले भने, ‘न ट्राफिक लाइट हेर्ने, न अर्काको लेनको ख्याल गर्ने, जहाँ पायो त्यहीँ छिर्ने र जता मन लाग्यो त्यतै पार्किङ गर्ने काम भइरहेको छ।’

किरातीले सार्वभौम नागरिकले निर्वाचित गरेको नेतृत्वले आफूलाई कानुनभन्दा माथि राख्न नहुने धारणा राखे। प्रधानमन्त्री शाहको पछिल्लो मुस्ताङ र पोखरा भ्रमणका क्रममा समेत ट्राफिक नियम उल्लंघन गरेको भन्दै आलोचना भइरहेको प्रसंग उल्लेख गर्दै उनले अब देशको नेतृत्व श्रम संस्कृति पार्टीले सम्हाल्ने वातावरण बनाउनुपर्ने बताए।

आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा जनताले ‘गाडीको चाबी’ श्रम संस्कृति पार्टीलाई दिने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। सरकार जनतामाथि शासन गर्ने निकाय नभई उनीहरूको सेवक हुनुपर्ने किरातीले बताए।

पुराना राजनीतिक दलका नेताहरूको अहंकार, सत्ता संघर्ष र आपसी विवादका कारण देशले अपेक्षित गति लिन नसकेको आरोप लगाउँदै उनले श्रम संस्कृति पार्टीमा त्यस्तो प्रवृत्ति नदोहोरिने दाबी गरे।

पार्टी अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा देशलाई निकास दिन आफू दोस्रो भूमिकामा रहेर पनि निःस्वार्थ रूपमा काम गर्न तयार रहेको उनले बताए। प्रचण्ड–ओली तथा देउवा–गगनबीच देखिएको जस्तो सत्ता संघर्ष र टकराव आफ्नो पार्टीमा नहुने भन्दै किरातीले रिस, राग र ईर्ष्याको बाटोमा पार्टी नहिँड्ने प्रतिबद्धता जनाए।

भारतका दशरथ माझीले पहाड काटेर बाटो निर्माण गर्न २२ वर्षसम्म गरेको संघर्षको उदाहरण दिँदै किरातीले पार्टीका नेता तथा कार्यकर्तालाई पनि त्यस्तै अठोट, धैर्य र निष्ठाका साथ जनताको सेवामा समर्पित हुन निर्देशन दिए।

कार्यक्रमका क्रममा उनले विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका दर्जनौँ नेता तथा कार्यकर्तालाई स्वागतसमेत गरेका थिए।

प्रकाशित मिति: ९ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com