काठमाडौं । बाढी तथा पहिरो प्रभावितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले सरकारबाट पूर्वअनुमति लिनु नपर्ने भएको छ।
तिब्बतबाट आएको बाढी रसुवा हुँदै नेपालका विभिन्न क्षेत्रमा प्रवेश गरेपछि ठूलो जनधनको क्षति भएको छ। बाढीले सडक, पुललगायतका भौतिक संरचनामा व्यापक क्षति पुर्याउनुका साथै विभिन्न स्थानमा मानिसहरू सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन।
बाढीपीडितको तत्काल उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी क्षेत्रका हेलिकप्टरलाई आवश्यकताअनुसार पूर्वसरकारी अनुमति नलिई उद्धार उडान गर्न सक्ने व्यवस्था गर्न निर्देशन दिएको हो।
सरकारको यो निर्णयले जोखिममा परेका नागरिकको तत्काल उद्धार गर्न निजी हेलिकप्टर परिचालन सहज हुने अपेक्षा गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यकताअनुसार हेलिकप्टर परिचालन गर्न सकिने जनाइएको छ।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार











प्रतिक्रिया