काठमाडौँ । चीनको तिब्बतबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण रसुवागढी, स्याफ्रुबेशी र टिमुरे क्षेत्रमा कार्यरत १६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढी प्रहरी चौकीमा असईको कमान्डमा ९ जना, स्याफ्रुबेशी प्रहरी चौकीमा ९ जना तथा इलाका प्रहरी कार्यालय टिमुरेमा इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली कार्यरत थियो।

सम्पर्कविहीन प्रहरी कर्मचारीहरूले बाढी आउनुअघि सुरक्षित स्थानतर्फ जाने क्रममा मोबाइल फोन छाडेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। डीआईजी रेग्मीका अनुसार स्याफ्रुबेशी र टिमुरेमा रहेका प्रहरीलाई सुरक्षित स्थानतर्फ जान करिब ७ देखि १० मिनेटको समय मिलेको थियो भने रसुवागढीमा भने निकै कम समय उपलब्ध भएको थियो।

बाढीले तीनवटै प्रहरी युनिटमा क्षति पुर्‍याएको छ। रसुवागढीस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारी भन्सार क्षेत्रको सुरक्षामा खटिँदै आएका थिए।

यसैबीच बाढीका कारण रसुवाको टिमुरे बजार तथा नुवाकोटको त्रिशूली बजारका घरहरूमा समेत क्षति पुगेको छ। प्रभावित तथा फसेका नागरिकको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन प्रहरी कर्मचारीको अवस्था भने अझै यकिन हुन सकेको छैन।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com