काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण मैलुङ क्षेत्रमा ठूलो मानवीय संकट उत्पन्न भएको छ। बाढीबाट जोगिन मैलुङमाथिको पाखास्थित ओडारमा आश्रय लिएर बसेका अर्जुन न्यौपानेले सरकारसँग तत्काल उद्धारको अपिल गरेका छन्।
न्यौपानेले सामाजिक सञ्जालमार्फत आफूहरूसहित केही व्यक्ति सुरक्षित रहेको जानकारी दिँदै बाढीमा फसेका ३०० भन्दा बढी मानिसको उद्धारका लागि हेलिकप्टर पठाउन आग्रह गरेका छन्।
ओडारबाटै फेसबुकमा स्ट्याटस लेख्दै उनले आफूहरूसहित आठ जना सुरक्षित स्थानमा रहेको तर तलतिर ठूलो संख्यामा मानिसहरू फसेको देखिएको बताएका छन्।
उनले लेखेका छन्, ‘हामी ८ जना अहिले मैलुङमाथि पाखाको ओडारमा छौँ। फोन उठाउन सकिन्न। धेरै साथीलाई बगायो। ३०० भन्दा बढी फसिरहेको देखिरहेका छौँ। राज्य छ भने हेलिकप्टरले उहाँहरूको उद्धार गरिदिनुस्।’
न्यौपानेका अनुसार आफूहरू तत्काल उद्धार गर्नुपर्ने अवस्थामा नरहे पनि मैलुङ क्षेत्रमा बाढीका कारण अलपत्र परेका श्रमिक तथा स्थानीयको अवस्था गम्भीर छ।
उनले आफन्तहरूलाई आफू सुरक्षित रहेको भन्दै चिन्ता नगर्न आग्रह गरेका छन्। ‘हामी सुरक्षित छौँ, म सुरक्षित छु । हामीलाई अहिले पर्दैन, मैलुङ भिरमा सुरक्षित छौँ। पिर नमान्नुस् है आफन्तजन,’ उनले भनेका छन्।
उनले आफूहरू साँझसम्म सुरक्षित स्थानबाट तल झर्न सक्ने सम्भावना रहेको बताउँदै तत्काल प्राथमिकता बाढीमा फसेका सयौँ मानिसको उद्धारलाई दिन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार











प्रतिक्रिया