काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशीमा आएको बाढीबाट उत्पन्न विपद्मा दलीय स्वार्थभन्दा माथि उठेर एकताबद्ध रूपमा राहत तथा उद्धारमा जुट्न सबै राजनीतिक दललाई आह्वान गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले राजनीतिक दलमा रहेका राहत तथा उद्धारसम्बन्धी तालिमप्राप्त जनशक्तिलाई पार्टीको झन्डा नभई राष्ट्रिय झन्डा बोकेर राज्य संयन्त्रसँग समन्वय गर्दै परिचालन गर्न आग्रह गरे।
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्को समयमा संसद् र प्रतिपक्षी बेन्चले देखाएको ऐक्यबद्धता सकारात्मक राजनीतिक संस्कार भएको बताए।
‘हाम्रा दलहरूमा रहेका राहत तथा उद्धारमा तालिमप्राप्त साथीहरूलाई दलीय झन्डा नबोकी देशको झन्डा लिएर स्थानीय प्रशासनसँगको समन्वयमा एकीकृत रूपमा परिचालन गर्न म आह्वान गर्दछु,’ उनले भने।
लामिछानेले विपद्का बेला नेता तथा मन्त्रीहरूको अनावश्यक स्थलगत भ्रमणले उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीको ध्यान मोडिन सक्ने भन्दै भीआईपी मुभमेन्ट नगर्न आग्रह गरे।
आफू र आफ्ना पार्टीका सांसदहरू अत्यावश्यक अवस्थाबाहेक फिल्डमा गएर सुरक्षा निकायलाई थप भार नदिने उनको भनाइ थियो। संकटका बेला राज्यको सम्पूर्ण ध्यान नागरिकको ज्यान जोगाउने र प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनेतर्फ केन्द्रित हुनुपर्ने उनले बताए।
उनले तिब्बततर्फको माथिल्लो जलाधार क्षेत्रमा पहिरोका कारण नदी थुनिएर अचानक खुल्दा भोटेकोशीमा भीषण बाढी आएको उल्लेख गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।
विपद्का समयमा सीमान्तकृत तथा जोखिममा रहेका समुदाय बढी प्रभावित हुने भएकाले सरकारले राहत र उद्धारमा उनीहरूलाई प्राथमिकतामा राख्नुपर्ने लामिछानेले बताए।
महिला, बालबालिका, गर्भवती, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गरिब तथा दलित समुदायलाई विशेष प्राथमिकतासहित उद्धार र राहतको व्यवस्था गर्न उनले सरकारको ध्यानाकर्षण गराए।
उनले अस्पतालहरूलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्न, हेलिकोप्टर तथा सुरक्षा संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गर्नसमेत सरकारसँग माग गरे।
साथै, विपद्को संवेदनशील समयमा सामाजिक सञ्जालमा अपुष्ट सूचना तथा एआईबाट निर्मित भ्रामक सामग्री प्रसारण नगर्न उनले सबैलाई आग्रह गरे।
प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार













प्रतिक्रिया