काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएको सरकारले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ।

प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाका विभिन्न प्रहरी चौकीमा कार्यरत २६ जना प्रहरी र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको बताए।

त्यस्तै, नेपाली सेनाका टिमुरे र मैलुङ पोस्टमा कार्यरत ४४ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको उनले जानकारी दिए। यससँगै सम्पर्कविहीन सुरक्षाकर्मीको संख्या ७९ पुगेको हो।

रसुवागढी भन्सार, अध्यागमन कार्यालयलगायतका केही कर्मचारी तथा प्रभावित क्षेत्रका सर्वसाधारणसमेत सम्पर्कविहीन रहेको मन्त्री खनालले बताए।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ। फेला परेका शवको भने सनाखत हुन बाँकी छ।

मन्त्री खनालका अनुसार बुधबार बिहान करिब ८ः४० बजे भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो। बाढीले रसुवा र नुवाकोटका टिमुरे, स्याफ्रुबेँसी, भित्रावती, त्रिशूली, बटार र देवीघाटलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बाढी आउनुअघि बिहान ८ः३७ बजे भूकम्प गएको र त्यसका कारण हिमपहिरो खसेर बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको मन्त्री खनालले बताए। यद्यपि उक्त कारणबारे थप प्रमाणीकरण आवश्यक रहेको उनको भनाइ छ।

बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजना, सञ्चार संरचना तथा सरकारी र निजी भवनमा ठूलो क्षति पुगेको प्रारम्भिक आकलन गरिएको छ।

सरकारले भोटेकोशी र त्रिशूली नदी आसपासका साथै रसुवा, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रभावितको खोजी तथा उद्धार, राहत र सुरक्षा व्यवस्थापनका लागि राज्यका विभिन्न संयन्त्र परिचालन गरिएको मन्त्री खनालले जानकारी दिए।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com