धनगढी । कैलालीमा श्रीमान‍्को हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको छ।

लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनार साउन २२ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए। उनी जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट हराएको भन्दै उनकी श्रीमती यमुना सुनारले प्रहरीलाई जानकारी गराएकी थिइन्।

प्रहरीले घटनाबारे खोजतलास तथा अनुसन्धान अघि बढाउने क्रममा यमुनाले प्रेमीसँगको मिलेमतोमा श्रीमान्को हत्या गर्ने योजना बनाएको खुलेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार दीपकको हत्या गरी शव कर्णाली नदीमा फालिएको प्रहरीको भनाइ छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भदौ ९ गते कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, लम्कीचुहा–४ की ३२ वर्षीया यमुना सुनार, टीकापुर नगरपालिका–३ का ३२ वर्षीय राम राजेश महतो, कञ्चनपुरको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी–८ का ३२ वर्षीय भीमा राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com