गोरखा । रसुवामा आएको भीषण बाढीपछि त्रिशूली नदीले बगाएर ल्याएको आशंका गरिएका सात जना पुरुषका शव तथा केही मानव अंग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बुधबार दिउँसो करिब २ः३० बजे स्थानीयवासीले त्रिशूली नदीका विभिन्न स्थानमा शव तथा मानव अंग देखिएको जानकारी गराएका थिए। त्यसपछि प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालयबाट टोली परिचालन गरी घटनास्थलमा पुगेर शव तथा अंग संकलन गरिएको हो।

प्रहरीका अनुसार गण्डकी गाउँपालिका–८ धवादीघाटस्थित त्रिशूली नदी किनारमा एउटा खुट्टा नभएको पुरुषको शव फेला परेको छ। गण्डकी–६ भुम्लिचोकमा रुखमा अड्किएको अवस्थामा अर्को पुरुषको शव भेटिएको छ।

त्यस्तै, गण्डकी–१ बुट्टारस्थित नदी किनारमा रहेको टिनको छाप्रोमा मानिसको एउटा खुट्टा तथा गण्डकी–४ फेवाटारस्थित नदी किनारको खेलमैदानमा एक पुरुषको टाउको फेला परेको प्रहरीले जनाएको छ।

गण्डकी–७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारबाट पनि एक पुरुषको शव फेला परेको छ। यसैगरी सहिद लखन गाउँपालिका–३ सिलिङटारस्थित नदी किनारमा तीन जना पुरुषका शव भेटिएका छन्।

प्रहरीले विभिन्न स्थानमा फेला परेका शवलाई जोड्दा हालसम्म सात जना पुरुषका शव तथा केही मानव अंग भेटिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा ती शव तथा मानव अंग रसुवा क्षेत्रमा आएको बाढीले त्रिशूली नदीमा बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, यसको पुष्टि भइसकेको छैन।

फेला परेका शवको पहिचानसमेत खुल्न सकेको छैन। मृतकहरू कहाँका हुन् भन्ने यकिन गर्न प्रहरीले पहिचान तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।

प्रहरी टोलीले शव तथा मानव अंग संकलन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुका साथै पहिचानका लागि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ।

यसैबीच, त्रिशूली नदीको बहाव तथा आसपासका क्षेत्र अझै जोखिमपूर्ण रहेकाले नदी किनार तथा जोखिमयुक्त स्थानमा नजान प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com