काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, खोजी, राहत तथा उपचारका कामलाई तीव्रता दिन आग्रह गरेका छन्।

बुधबार देशवासीका नाममा सन्देश जारी गर्दै पूर्वराजा शाहले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा नागरिक प्रभावित भएको उल्लेख गरेका छन्।

बाढीका कारण सडक, पुल, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै उनले विपत्तिले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन्।

उनले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिक तथा सुरक्षाकर्मीको खोजी कार्य तत्काल तीव्र बनाउन आग्रह गरेका छन्।

पूर्वराजा शाहले खोजी, उद्धार, राहत र उपचारमा कुनै कमी हुन नदिन सरकारसहित सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्। उनले सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आम नागरिकलाई विपत्तिको समयमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन्।

विपद्मा परेका नागरिकको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

सीमापारि हुने प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने उल्लेख गर्दै पूर्वराजा शाहले यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि अलग–अलग प्रयासभन्दा त्रिदेशीय समन्वय र संयुक्त प्रयास बढी प्रभावकारी हुने धारणा व्यक्त गरेका छन्।

सन्देशको अन्त्यमा उनले ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्ने कामना गरेका छन्।

प्रकाशित मिति: १० भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com