काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि भन्दै रकम संकलन गरेको विषयमा सामाजिक सञ्जालमा आलोचना बढेपछि ‘हामी नेपाल’ले आफ्नो इन्स्टाग्रामबाट बैंकको क्यूआर कोड हटाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वीकृतिबिना राहतका नाममा रकम नउठाउन सचेत गराएपछि संस्थाले अब नगद सहयोगको सट्टा राहत सामग्री मात्र संकलन गर्ने जनाएको छ।

संस्थाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै बाढी प्रभावितका लागि अत्यावश्यक जिन्सी सामग्री संकलनलाई प्राथमिकता दिएको बताएको छ। प्रत्यक्ष रूपमा सामग्री सहयोग गर्दा प्रभावित क्षेत्रमा छिटो पुर्‍याउन सहज हुने र आर्थिक कारोबारसम्बन्धी जटिलता पनि कम हुने उसको भनाइ छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीपछि विभिन्न व्यक्ति तथा समूहले राहतका नाममा रकम उठाउन थालेपछि प्राधिकरणले पनि यसप्रति ध्यानाकर्षण गराएको थियो।

प्राधिकरणले सरकारको आधिकारिक आह्वानबाहेक कुनै व्यक्ति वा संस्थालाई आर्थिक सहयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। अनधिकृत रूपमा रकम संकलन गरेको पाइएमा प्राधिकरणको ०१–४२९११९७ मा जानकारी गराउनसमेत अनुरोध गरिएको छ।

विपद्का बेला सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा सरकारका आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com