काठमाडौं । भोटेकोशी बाढीपछि राहत तथा उद्धारका नाममा ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी नक्कली क्यूआर कोड, व्यक्तिगत बैंक खाता र ई–वालेटमार्फत रकम माग्ने क्रम बढेको छ।
विपद्को संवेदनशील अवस्थाको फाइदा उठाउँदै अपरिचित व्यक्ति तथा समूहले सामाजिक सञ्जालमार्फत राहत संकलन गरिरहेको भन्दै प्रहरीले आधिकारिक माध्यमबाहेक अन्य कुनै पनि व्यक्तिगत वा अपरिचित खातामा रकम जम्मा नगर्न आग्रह गरेको छ।
राहत कोषमा सहयोग गर्न चाहनेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा आधिकारिक सामाजिक सञ्जालमा सार्वजनिक गरिएको विवरणबाट मात्र क्यूआर तथा बैंक खाता यकिन गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले क्यूआर स्क्यान गर्दा ‘pmdaibi’, ‘Prime Minister Disaster Relief Fund’, ‘Pradhanmantri Daibi Prakop Uddarko’ वा ‘Disaster Relief Fund’ जस्ता आधिकारिक विवरण देखिए–नदेखिएको जाँच गर्न पनि आग्रह गरेको छ। रकम पठाउने क्रममा कुनै व्यक्तिको वा अपरिचित संस्थाको नाम देखिएमा रकम नपठाउन भनिएको छ।
राहतको नाममा ठगी भएको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तत्काल जानकारी गराउन सकिने प्रहरीले जनाएको छ।
प्रहरीले विपद्का बेला सहयोग गर्दा भावनामा मात्र होइन, खाताको आधिकारिकता जाँच गरेर मात्र रकम पठाउन आग्रह गरेको छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया