काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढीपछि उद्धार तथा राहतमा सीमित स्रोतसाधनका बाबजुद सुरक्षा निकायले देखाएको सक्रियता र साहस प्रशंसनीय रहेको बताएका छन्।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खरेलले सरकारको सम्पूर्ण ध्यान अहिले खोज, उद्धार तथा राहतमा केन्द्रित रहेको बताए। विपद्को गम्भीरता र आवश्यकताअनुसार सम्बन्धित व्यक्ति, संस्था तथा प्रतिनिधिहरूलाई मात्रै प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने उनको भनाइ छ।
आवश्यकता परे रास्वपा सभापति रवि लामिछाने स्वयं पनि प्रभावित क्षेत्रमा जाने उनले बताए। तर, भौतिक रूपमा घटनास्थलमा उपस्थित हुनु मात्रै सक्रियताको मापदण्ड नभएको भन्दै सभापतिको सम्पूर्ण ध्यान चौबीसै घण्टा भोटेकोशी बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा केन्द्रित रहेको खरेलले स्पष्ट पारे।
खरेलले विपद्को यस्तो संवेदनशील घडीमा सबैले मानवीय संवेदना र जिम्मेवारी प्रदर्शन गर्नुपर्नेमा जोड दिए। नदीमा बाढीसँगै शवहरू बगिरहेको र देश शोकमा डुबेका बेला मृतकका गरगहना तथा बहुमूल्य सामान लुट्ने प्रवृत्ति निन्दनीय भएको उनले बताए।
‘नदीले शव बगाइरहेको छ, किनारमा शवहरू आइरहेका छन्। देश नै शोकमा डुबेको अवस्थामा मृत शवबाट सुन निकालेर घर लैजाने अवस्था आयो भने हामीले नेपाली समाज कता जाँदैछ भनेर गम्भीर रूपमा सोच्नुपर्छ,’ खरेलले भने।
उनले विपद्का बेला बाढीले बगाएका सिलिन्डर, काठ तथा अन्य सामान निकाल्ने क्रममा ज्यान जोखिममा पार्ने व्यक्तिहरूलाई समेत सचेत गराए। उद्धारका क्रममा जोखिम मोलेर सामान संकलन गर्ने वा मृतकको सम्पत्ति लुट्ने गतिविधि देखिएमा समाजले त्यस्ता व्यक्तिको पहिचान गरी सामाजिक रूपमा खबरदारी गर्नुपर्ने उनको भनाइ छ।
‘हामी अहिले गहिरो शोकमा छौँ। बाढीले बगाएको शवबाट कसैले सुन चोर्छ भने त्यस्तो प्रवृत्ति सह्य हुँदैन। अहिले बगिरहेको सिलिन्डर, काठ वा अन्य सामान निकाल्न ज्यान जोखिममा पार्नेहरूलाई पनि सचेत गराउनुपर्छ। त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई समाजले नै चिनेर खबरदारी गर्नुपर्छ,’ उनले बताए।
खरेलले विपद्को समयमा उद्धारकर्मीलाई सहयोग पुग्ने गरी संयमित र जिम्मेवार व्यवहार गर्न सबैमा आग्रह गरे।
प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया