चितवन । चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै अभाव भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोष्टमार्टम घर भरिएपछि शवलाई त्रिपाल टाँगेर बाहिरै राखिएको छ ।

हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको भरतपुर अस्पतालका सूचना अधिकारी गाोपालप्रसाद पौडेलले बताए । अस्पतालमा १२ जनासम्म राख्ने क्षमता रहेको र त्यो भरिएको उनले सुनाए । ‘हाम्रोमा ६ वटा फ्रिजर हो । एउटामा २–२ जना राख्दा १२ जना राख्न मिल्छ,’ उनले थपे, ‘पहिल्यै बेवारिसे शव पनि छन् । यस्तो हताहतमा हामीले धान्न सक्ने क्षमता छैन ।’

गर्मीको मौसममा धेरै समय शव घाममा राख्दा बिग्रने, गन्हाउने समस्या हुन्छ । यसकारण जिल्ला सुरक्षा समितिको बैठकले शव गृहमा नअटेका शव एसीसहितको कोठामा राख्ने तयारी गरेको उनले जानकारी दिए । आफन्त वा परिवारले शव प्रहरीमार्फत सनाखत गरेपछि अस्पतालले पोष्टमार्टम गरेर जिम्मा लगाउने उनले बताए ।

भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको एउटा पुरानो भवनमा ‘पीडित परिवार सम्पर्क परामर्श केन्द्र’ (शव पहिचान केन्द्र) स्थापनाको काम अहिले भइरहेको छ । ५ सयसम्म शव राख्न मिल्ने गरी पहिचान केन्द्र तयार भइरहेको चितवनका एसपी रामेश्वर पौडेलले बताए ।

चितवन क्षेत्रबाट मात्र हालसम्म १ सय ८ वटा शवहरू फेला परेका छन् । ती शवलाई सुरुमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने र बडी ब्यागमा राख्ने काम हुँदैछ । त्यसपछि, माइनस डिग्री सेल्सियस तापक्रम भएको पहिचान केन्द्रको विशेष कुलिङ हलमा शव राखिने एसपी पौडेलले बताए ।

आफन्त र परिवारका सदस्यले यहाँ राखिएका शव नेपाल प्रहरीको वेबसाइट र सामाजिक सञ्जालमार्फत फोटो हेरेर पहिचान गर्न सक्नेछन् ।

उनकाअनुसार बेपत्ताको खोजीका लागि सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिनुपर्नेछ । शव पहिचान भएपछि ट्याग नम्बर अनुसार शव गृहबाट निकालेर कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइनेछ ।

पीडित परिवारका लागि निःशुल्क होटेल र २४ सै घण्टा एम्बुलेन्स सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पीडित परिवारका लागि होटल व्यवसायी संघ चितवन र सौराहाको समन्वयमा निःशुल्क बस्ने व्यवस्था गरिएको छ ।

कुनै समस्या परेमा १०० मा फोन गरेर सहयोग माग्न सकिने एसपी पौडेलले बताए । शव सनाखतपछि घरसम्म लैजान करिब २२ वटा एम्बुलेन्स तयार राखिएका छन् ।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com