काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा बाढी र पहिरोको जोखिम कायमै रहेका बेला दुई नदीको दोभानमा ठूलो जलाशय बनेपछि चिनियाँ अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्।

चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थलनजिक पहिरोका कारण पानी थुनिएर ठूलो ‘ताल’ बनेको हो। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र पानी भरिएर बाहिरिन थालेको प्रारम्भिक आकलन गरिएको छ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने भएकाले ताल फुट्ने जोखिम बढेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै चिनियाँ जलस्रोत अधिकारीहरूले तालको अवस्थालाई निरन्तर निगरानी गरिरहेका छन्।

ताल फुटेमा त्यसबाट आउन सक्ने बाढीको सम्भावित प्रभावबारे बाढीको सिमुलेसन तथा प्राविधिक विश्लेषण समेत भइरहेको जनाइएको छ। सम्भावित आपत्कालीन अवस्थाका लागि उद्धार तथा राहत व्यवस्थापनको तयारी पनि तीव्र पारिएको छ।

यसअघि नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी लेदोसहितको पहिरोले चीनतर्फको केरुङ (जिरोङ) नाकासहित आसपासका क्षेत्रमा क्षति पुर्‍याएको थियो। त्यसपछि चिनियाँ अधिकारीहरूले सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा राहतका लागि विभिन्न टोली परिचालन गरेका छन्।

भौगोलिक कठिनाइ, लगातारको वर्षा र पुनः विपद्को सम्भावनाबीच जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरू उद्धार तथा आपत्कालीन तयारीमा जुटेका छन्। विमान, उद्धार उपकरण र राहत सामग्रीसमेत तयारी अवस्थामा राखिएको चिनियाँ पक्षले जनाएको छ।

प्रकाशित मिति: ११ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com