काठमाडौं। रसुवाको भोटेकोशी क्षेत्रका बाढी प्रभावित नागरिकका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले व्यक्तिगत रूपमा राहत सामग्री लिएर प्रभावित क्षेत्रमा नजान आग्रह गरेको छ।
विपद्को कठिन अवस्थामा पीडितलाई सहयोग गर्न नागरिक तथा सामाजिक संघसंस्थाले देखाएको तत्परता प्रशंसनीय रहेको उल्लेख गर्दै सचिवालयले पूर्वसमन्वयबिना प्रभावित क्षेत्रमा पुग्दा उद्धार तथा राहत व्यवस्थापनमा थप चुनौती सिर्जना भएको जनाएको छ।
सचिवालयका अनुसार साना निजी सवारी साधनमा थोरै–थोरै राहत सामग्री बोकेर व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने क्रम बढ्दा सडकमा अत्यधिक सवारी चाप र जाम हुने अवस्था आएको छ। यसले आपत्कालीन सेवाका एम्बुलेन्स, उद्धार टोली तथा प्राथमिकताका राहत सामग्री बोकेका सवारी साधनलाई समेत गन्तव्यसम्म पुग्न कठिनाइ भइरहेको जनाइएको छ।
त्यस्तै, पूर्वतयारी र समन्वयबिना जोखिमपूर्ण भूगोलमा पुग्दा राहत वितरणमा खटिने स्वयंसेवक तथा सहयोगीहरूको सुरक्षामा समेत जोखिम बढ्न सक्ने सचिवालयले जनाएको छ।
सचिवालयले वास्तविक पीडितसम्म छिटो र प्रभावकारी रूपमा राहत पुर्याउन व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने कार्य रोक्दै सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह गरेको छ।
अबदेखि राहत वितरण वा उद्धार कार्यमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्नुपर्ने बताइएको छ। जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री व्यवस्थापन तथा वितरणको समन्वय गर्ने जनाइएको छ।
सहयोगको भावना र सद्भावको सम्मान गर्दै प्रधानमन्त्री सचिवालयले राज्यका आधिकारिक संयन्त्रमार्फत व्यवस्थित र अनुशासित रूपमा राहत तथा उद्धार कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया