काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि चौधरी ग्रुपले १५ करोड रुपैयाँभन्दा बढीको सहयोग घोषणा गरेको छ।
चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन खाद्यान्न तथा औषधि वितरण, राहत शिविर सञ्चालन र पहिलो चरणमा ५०० वटा संक्रमणकालीन आवास (अस्थायी घर) निर्माण गर्ने घोषणा गरेका हुन्।
विनाशकारी बाढीका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएका छन्। घरबार गुमाएका तथा तत्काल सुरक्षित आश्रय आवश्यक भएका परिवारलाई लक्षित गर्दै चौधरी फाउन्डेसनले राहतसँगै आवासको व्यवस्थालाई प्राथमिकतामा राखेको जनाएको छ।
घोषित सहयोगअन्तर्गत प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्यान्न, औषधि तथा स्वास्थ्य सामग्री वितरण, राहत शिविर निर्माण तथा सञ्चालन र अस्थायी आवास निर्माणका काम अघि बढाइनेछ।
स्थायी पुनर्निर्माणका लागि समय लाग्ने भएकाले पहिलो चरणमा निर्माण गरिने ५०० संक्रमणकालीन घरले घरविहीन परिवारलाई तत्काल सुरक्षित बास उपलब्ध गराउने अपेक्षा गरिएको छ। बाढीबाट विस्थापित परिवारलाई राहत शिविरमा लामो समय निर्भर हुनुपर्ने अवस्था कम गर्न पनि अस्थायी आवास उपयोगी हुने बताइएको छ।
चौधरी फाउन्डेसनले राहत तथा पुनर्स्थापनाका कामलाई तत्कालीन मानवीय सहयोगमा मात्र सीमित नराखी प्रभावित परिवारलाई क्रमशः सुरक्षित आवास र पुनर्स्थापनातर्फ लैजाने उद्देश्यसहित अघि बढाउने जनाएको छ।
१५ करोड रुपैयाँभन्दा बढीको उक्त सहयोग खाद्यान्न तथा चिकित्सा राहत, राहत शिविर, संक्रमणकालीन आवास निर्माणलगायतका क्षेत्रमा परिचालन गरिनेछ। यसबाट भोटेकोशी बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै पुनर्स्थापनाको प्रक्रियामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १२ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया