काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको ५० टन आपत्कालीन राहत सामग्री बोकेका दुई ठूला चिनियाँ विमान काठमाडौं आइपुगेका छन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्री बोकेका ती विमान आइतबार बिहान करिब ७ बजे काठमाडौं अवतरण गरेका हुन्। चीनको चेङ्दु सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्।

दूतावासका अनुसार चीनले पठाएका राहत सामग्रीमा टेन्ट, कम्बल, स्लिपिङ ब्याग, सुक्खा खाना तथा प्राथमिक उपचारका किटलगायत १३ हजार २०० थान सामग्री छन्। ती सामग्रीको कुल तौल करिब ५० टन रहेको जनाइएको छ।

राहत सामग्रीसँगै चीनबाट चार जना सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरणसमेत नेपाल आएका छन्। उनीहरूले विपद्का कारण प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा प्राविधिक कार्यमा सहयोग गर्ने बताइएको छ।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले काठमाडौंमा आयोजित कार्यक्रममा उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसीलाई हस्तान्तरण गरेका छन्।

चीनले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले आपत्कालीन सामग्री र विशेषज्ञ टोली नेपाल पठाएको हो।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com