काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणमा सरकार थप प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताएका छन्।

आइतबार च्यासलमा एमाले महासचिव शंकर पोखरेलले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन बुझाउने कार्यक्रममा बोल्दै ओलीले विपद्को समयमा राजनीतिक आरोप–प्रत्यारोप र श्रेयको प्रतिस्पर्धाभन्दा नागरिकको जीवनरक्षा र राहतलाई प्राथमिकता दिनुपर्ने बताए।

देश अहिले शोक र पीडामा रहेकाले दुःख व्यक्त गरेर मात्रै नपुग्ने भन्दै उनले प्रभावित नागरिकको पीडा कम गर्न राज्यका सबै संयन्त्र र राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए।

‘हामी शोकाकुल भएर मात्रै बस्न सक्दैनौँ। पीडामा परेकाहरूको पीडा कसरी कम गर्न सकिन्छ भन्नेमा लाग्नुपर्छ,’ ओलीले भने।

मानवीय क्षति अपूरणीय हुने उल्लेख गर्दै उनले भौतिक संरचना तथा सम्पत्तिको क्षति समयक्रममा पुनर्निर्माण गर्न सकिने भए पनि गुमेको जीवन फिर्ता ल्याउन नसकिने बताए।

उनले अहिलेको विपत्तिलाई राष्ट्रिय शोक र साझा पीडाका रूपमा लिएर समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने धारणा राखे।

‘यो विपत्ति राष्ट्रिय शोक र पीडाको समय हो। जनता मारमा परेका बेला कसैले राजनीति गर्नु हुँदैन। यो साझा पीडा हो र यसको समाधान गर्ने दायित्व पनि साझा हो,’ ओलीले भने।

ओलीले उद्धार, राहत र पुनर्निर्माणका लागि राज्यकोष आवश्यकताअनुसार उदारतापूर्वक परिचालन गर्न सरकारलाई आग्रह गरे। संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्ने उनको भनाइ छ।

विपद्को सामना गर्न तीनै तहका सरकारबीच तत्काल समन्वय आवश्यक रहेको ओलीले बताए। प्रभावित क्षेत्र राजधानी रहेको बागमती प्रदेशमै पर्ने भएकाले अवस्थाको गम्भीरता बुझ्न र आवश्यक स्रोतसाधन परिचालन गर्न केन्द्र सरकारलाई तुलनात्मक रूपमा सहज हुने उनको भनाइ थियो।

‘यो बेला केन्द्र, प्रदेश र स्थानीय तीनै सरकार मिलेर काम गर्नुपर्छ,’ उनले भने।

ओलीले एमालेले भदौ १० गते नै सचिवालय बैठक राखेर विपद्को गम्भीरताबारे छलफल गरी साझा उत्तरदायित्वका साथ अघि बढ्ने निर्णय गरेको बताए।

यद्यपि उनले सरकारसँग पर्याप्त स्रोतसाधन हुँदाहुँदै पनि त्यसको प्रभावकारी परिचालन हुन नसकेको भन्दै सरकारको उद्धार तथा राहत व्यवस्थापनप्रति असन्तुष्टि जनाए।

‘सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको छ। सरकार एक ढंगले भन्दा अगम्य, अप्राप्य स्थितिमा छ। अदृश्य जस्तो अवस्थामा सरकार छ,’ ओलीले टिप्पणी गरे।

प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्थामा केन्द्रबाट पर्याप्त समन्वय हुन नसकेको उनको आरोप थियो।

ओलीले विपद् व्यवस्थापनमा अनुभव र दक्षता भएका पर्वतारोहण तथा उद्धार संस्थालाई समेत परिचालन गर्नुपर्ने बताए।

माउन्टेनियरिङ तथा रेस्क्युमा दक्ष संस्थाहरूलाई खोज तथा उद्धारमा सहभागी गराउनुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिइएको उनको भनाइ थियो।

विपद्को समयमा सबै राजनीतिक दलले श्रेयको प्रतिस्पर्धा नगरी सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै ओलीले त्यसअनुसार संयुक्त प्रयास अघि बढाउनुपर्ने बताए।

उनले सर्वदलीय बैठक बसेको आफूले जानकारी पाए पनि त्यसबाट निस्किएको निष्कर्षबारे आफूलाई जानकारी नभएको बताए।

‘यो एकल प्रयासबाट सफल हुने विषय होइन। सबै लागेर मात्रै सफल हुने हो। यो साझा विपत्ति र साझा संकट हो। यसलाई साझा रूपमै समाधान गर्न सरकार अग्रसर होस्,’ ओलीले भने।

ओलीले बाढीपीडितका लागि एमालेले पठाएको राहत सामग्रीबारे सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमबाट गलत तथा तोडमोड गरिएको प्रचार भएको आरोप लगाए।

एमालेले प्रभावित क्षेत्रमा राहत सामग्री पठाइरहेको र स्थानीय तहसँगको समन्वयमा वितरणसमेत भइरहेको उनले दाबी गरे।

‘सामाजिक सञ्जालहरू र कतिपय सञ्चारमाध्यमबाट तोडमोड गरेर एमालेलाई खुइल्याउने काम भइरहेको छ। हामी राहत पठाउँदैछौँ,’ ओलीले भने।

ओलीले रसुवामा आइतबार आएको बाढी पनि अत्यन्त ठूलो र विनाशकारी रहेको बताए। प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग आफू निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिए।

उनका अनुसार पछिल्लो बाढीले यसअघि जोगिएका कतिपय घर तथा संरचनासमेत बगाएको छ।

‘आज गएको बाढी पनि धेरै ठूलो छ। आजको बाढीले अस्ति जोगिएका धेरै घर बगाएको छ। आजको बाढी पनि उस्तै विनाशकारी छ,’ ओलीले भने।

उनले विपद्को समयमा राजनीतिक विवाद, आरोप–प्रत्यारोप र श्रेयको प्रतिस्पर्धालाई थाती राखेर तत्काल उद्धार, राहत तथा पुनर्निर्माणमा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरे।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com