काठमाडौं । बाढी–पहिरो प्रभावित नागरिकका लागि राहत वितरणको विषयमा छलफल गर्न सिंहदरबार पुगेका बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।

मुख्यमन्त्री थापामगर आइतबार बिहान प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सहभागी भएका थिए। उक्त छलफलमा संघीय सरकारले तत्काल राहत वितरण गर्न नसकेको जनाउँदै प्रधानमन्त्रीका सल्लाहकारहरूले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी राहत वितरण अघि बढाउन सुझाव दिएका थिए।

दिउँसो प्रधानमन्त्री शाहसँग भेट गरी राहत वितरणको स्पष्ट कार्ययोजना तय गर्ने सहमतिपछि मुख्यमन्त्री सिंहदरबारबाट बाहिरिएका थिए। निर्धारित समयअनुसार पुनः प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका उनलाई प्रधानमन्त्री शाहका सुशासन मामिला विज्ञ सुदीप ढकालसँग भेट गराइएको बताइएको छ।

प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट हुन नसकेपछि असन्तुष्ट बनेका मुख्यमन्त्री थापामगर सिंहदरबारबाट निस्किएर सीधै रास्वपा केन्द्रीय कार्यालय पुगेका थिए। त्यहाँ उनले सभापति रवि लामिछानेसँग बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका विषयमा छलफल गरेका हुन्।

रास्वपाका संगठन विभाग प्रमुख प्रमोद न्यौपानेका अनुसार लामिछाने र मुख्यमन्त्री थापामगरबीच विपद् व्यवस्थापनका क्रममा तीनै तहका सरकारबीच समन्वय, राहत सामग्रीको वितरण तथा प्रभावित नागरिकलाई तत्काल सहायता पुर्‍याउने विषयमा छलफल भएको थियो।

छलफलका क्रममा लामिछानेले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरेर मात्रै विपद्को सामना गर्न सकिने बताएका थिए। प्रदेश सरकारले संघीय र स्थानीय सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

‘यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ। संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाउँछु,’ लामिछानेले भनेका थिए।

मुख्यमन्त्री थापामगरले भने तीन तहका सरकारबीच अपेक्षित समन्वय हुन नसकेको बताएका थिए। प्रदेश सरकारले आफ्नो तर्फबाट राहत तथा उद्धारका काम अघि बढाइरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दासमेत प्रदेश सरकारलाई त्यसबारे जानकारी नदिइएकोमा दुःख व्यक्त गरेका थिए।

थापामगरले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको समेत लामिछानेलाई जानकारी गराएका थिए।

‘तीन तहमा कसले के काम गर्ने भन्ने स्पष्ट रूपमा छुट्याउन आवश्यक छ। प्रभावित क्षेत्रमा राहत पुर्‍याउन सकिएको छैन। राहत सामग्री बट्टार क्षेत्रमा जम्मा भएको छ, त्यसभन्दा माथि पुर्‍याउन कठिनाइ भइरहेको छ,’ थापामगरको भनाइ थियो।

रास्वपाले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयमार्फत राहत तथा उद्धारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com