काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले बाढीपीडितको सहयोगका लागि उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ।

बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले सरकारले राहत तथा उद्धारका कामलाई थप तीव्रता दिनुपर्ने बताए। विशेषगरी सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि उपलब्ध सबै उपाय तत्काल प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

‘सरकारले राहत तथा उद्धारका कामलाई तीव्रता दिन आवश्यक छ। सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रभावकारी प्रयास थाल्नुपर्छ। खोज तथा उद्धार परिणाममुखी हुनुपर्छ,’ चालिसेले भने।

नेपालको उद्धार क्षमताले मात्रै सम्भव नभए अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति तथा विशेषज्ञको सहयोग लिनसमेत सरकारलाई कांग्रेसले आग्रह गरेको छ।

बाढीबाट रसुवा र नुवाकोटमा मात्रै स्थानीय बासिन्दा नभई अन्य जिल्लाबाट पर्यटन तथा व्यावसायिक कामका लागि पुगेका नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै चालिसेले उनीहरूको खोजी, उद्धार र सुरक्षामा समेत विशेष ध्यान दिनुपर्ने बताए।

कांग्रेसले बाढीपछि आफन्त सम्पर्कविहीन रहेका अवस्थामा घटनाको चार दिनमै शव व्यवस्थापनका लागि गाड्ने निर्णय गरिएको विषयमा समेत आपत्ति जनाएको छ। आफन्त तथा परिवारजनलाई पहिचान र बुझाउन सकिने अवस्था हुँदाहुँदै हतारमा शव व्यवस्थापन गर्दा थप पीडा हुन सक्ने भन्दै कांग्रेसले यसबारे संवेदनशील हुन सरकारसँग आग्रह गरेको छ।

कांग्रेसले विपद्को समयमा राजनीतिक आग्रहभन्दा माथि उठेर राज्यका सबै संयन्त्र परिचालन गर्दै खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com