काठमाडौं । भोटेकोशी बाढीका कारण २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना कोरियन नागरिकसहित कैयौँ नेपाली कामदार पाँच दिनदेखि बेपत्ता छन्।
बेपत्ताको उद्धारका लागि कोरियाली सरकार, नेपालस्थित कोरियाली दूतावास र आयोजनाका प्रतिनिधिले निजी हेलिकप्टरमार्फत खोज तथा उद्धार गर्न अनुमति मागे पनि हालसम्म पर्याप्त समन्वय हुन नसकेको जनाइएको छ।
परराष्ट्र मन्त्रालयले ६ वटा हेलिकप्टरलाई उडान तथा अवतरण अनुमति दिन रक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो। तर गृह र रक्षा मन्त्रालयबाट सुरक्षा तथा प्राविधिक कारण देखाउँदै पर्याप्त अनुमति नदिइएको सरोकारवालाको गुनासो छ।
आफन्त तथा कम्पनीका प्रतिनिधिहरूले बेपत्ता कामदारहरू कठिन भौगोलिक क्षेत्रमा घाइते अवस्थामा रहेको सूचना आएको भन्दै तत्काल उद्धारका लागि सरकारसँग आग्रह गरेका छन्। साथै, अहिलेसम्म बेपत्ताहरूको पूर्ण विवरण सार्वजनिक नगरिएको भन्दै परिवारजनले असन्तुष्टि जनाएका छन्।
प्रकाशित मिति: १४ भाद्र २०८३, आइतबार













प्रतिक्रिया