चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गको खोजी सुरु गरिएको छ। त्रिशूली नदीले सडकको जग निरन्तर कटान गरिरहेका कारण तत्कालै सडक मर्मत गरेर यातायात सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको सडक आयोजनाले जनाएको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नदीको कटान बढ्दै जाँदा सडक भासिने र चर्किने क्रम जारी छ। हालसम्म सडकको करिब १०० मिटर भाग भासिएको तथा चिरिएको छ। जोखिम बढेपछि पैदल यात्रासमेत रोकिएको छ।
पश्चिम खण्ड प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारीका अनुसार सडकको फेदमा नदीले निरन्तर कटान गरिरहेकाले थप कति भाग भासिन्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन। सडकको भित्तोसमेत चर्किएकाले विज्ञमार्फत विस्तृत अध्ययन भइरहेको उनले बताइन्।
माथिल्लो भागमा बस्ती रहेकाले सडकको भित्तो काटेर तत्काल सडक सञ्चालनमा ल्याउनसमेत सम्भव नरहेको आयोजनाको भनाइ छ। विषय विज्ञको अध्ययनपछि मात्रै सडक कसरी पुनःनिर्माण गर्ने भन्ने टुंगो लाग्नेछ।
तत्काल सडक सञ्चालन गर्न नसकिने भएपछि बेनीघाट–आरुघाट–गोरखा, गल्छी–सुनौलो बजार–धादिङबेँसी–सल्यानटार–गोरखालगायतका वैकल्पिक मार्गको अध्ययन भइरहेको छ। तत्काल मर्मत गरेर सञ्चालन गर्न सकिने सडक पहिचान गरी यातायात व्यवस्थापन गर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ।
पूर्वबाट आउने सवारीसाधनलाई मकवानपुरतर्फका सडक प्रयोग गराउने तथा पश्चिम र पोखरातर्फ जाने सवारीसाधनका लागि गोरखातर्फबाट वैकल्पिक मार्ग खोज्ने तयारी गरिएको छ।
राजधानी जोड्ने प्रमुख लाइफलाइन सडकका रूपमा रहेको पृथ्वी राजमार्गमा कृष्णभीरको अवरोधले ठूला मालवाहक सवारीसाधनको आवागमनमा समेत असर पर्ने देखिएको छ। राजधानीमा ग्यासका बुलेटलगायत ठूला सवारीसाधनसमेत यही मार्गबाट आवतजावत गर्ने गरेका छन्।
पृथ्वी राजमार्गको यस खण्डमा दैनिक करिब १४ हजार सवारीसाधन गुड्ने गरेका छन्। केही वर्षअघिसम्म कृष्णभीरमा पहिरो र सडकको समस्याले नियमित दुःख दिँदै आएको भए पनि पछिल्ला वर्षमा मर्मतसम्भार तथा पहिरो रोकथामका कामपछि समस्या कम भएको थियो। अहिले भने त्रिशूली नदीको कटानका कारण फेरि गम्भीर जोखिम उत्पन्न भएको हो।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार












प्रतिक्रिया