काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित देशहरूले व्यहोर्नुपर्ने बताएका छन्।
सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै ओलीले जलवायु तथा पर्वतीय विपद्मा नेपालको योगदान नगण्य रहेको दाबी गरे।
उनले वातावरण विनाश र कार्बन उत्सर्जनमा बढी भूमिका रहेका विकसित देशहरूले त्यसबाट सिर्जित क्षतिको जिम्मेवारी लिनुपर्ने बताए। अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग स्वागतयोग्य भए पनि यस्तो सहयोगलाई दया वा करुणाका रूपमा नभई नेपालको अधिकारका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
‘अन्तर्राष्ट्रिय मित्रहरूले ४०–५० करोडको सहयोग गर्नुहोला। तर त्यति सहयोग त हाम्रो एउटा घर वा कार्यालय बगाउँदा नै भएको भौतिक क्षतिभन्दा कम हुन्छ,’ ओलीले भने।
कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने तथा जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अन्तर्राष्ट्रिय रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालले पनि यसमा आफ्नो दाबी प्रस्तुत गर्नुपर्ने बताए।
ओलीले भोटेकोशीको बाढीलाई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताए। यस घटनालाई जलवायु तथा पर्वतीय जोखिमसँग जोडेर नेपालले अविलम्ब ‘सगरमाथा संवाद’ आयोजना गर्नुपर्ने उनको सुझाव छ।
उनले भोटेकोशीको बाढीलाई नेपालमा मात्र सीमित घटनाका रूपमा नहेर्न आग्रह गर्दै यसले विश्वव्यापी वातावरणीय संकटतर्फ संकेत गरेको बताए।
यसैबीच ओलीले बाढीपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार तथा राहत कार्य प्रभावकारी नभएको भन्दै आलोचना गरे। केही मन्त्री तथा सांसदले नागरिकलाई हप्काउने, आधारहीन निर्देशन दिने र समस्या थप्ने काम गरेको आरोपसमेत उनले लगाए।
उद्धारमा निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्न सरकारले रोक लगाएकोप्रति पनि ओलीले आपत्ति जनाए। एमालेका कार्यकर्ता भने बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा खटिएको उनले दाबी गरे।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार












प्रतिक्रिया