काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले भोटेकोशी बाढीपछि उद्धार, राहत तथा विपद् व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सामाजिक सञ्जालमा सरकारको सक्रियता देखिए पनि प्रभावित क्षेत्रको स्थलगत अवस्था त्यसअनुसार नरहेको दाबी गरे।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण प्रभावकारी बन्न सकेको छैन। विभिन्न स्थानमा राहत सामग्री थुपारिए पनि वास्तविक पीडितसम्म आवश्यक सामग्री पुग्न नसकेको उनले बताए।
सरकारले राहत वितरणमा स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आरोपसमेत राईले लगाए। स्थानीय तहसँग प्रभावित नागरिकको अवस्था, जनसंख्या, आवश्यकतासहितको यथार्थ विवरण हुने भए पनि सरकारले त्यसको उपयोग गर्दै समन्वयात्मक ढंगले काम गर्न नसकेको उनको भनाइ छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै राईले सामाजिक सञ्जालमा देखाइने सरकारको सक्रियता र फिल्डको वास्तविकताबीच ठूलो अन्तर रहेको बताए।
उनले भने, ‘सरकार अत्यन्त सक्रिय बनिरहेको भनेर सामाजिक सञ्जालमा कतिपय कुरा आए पनि वास्तविकता फरक छ। हाम्रो संसदीय दलका नेता भीष्मराज आङदेम्बे पनि फिल्डमा पुगेर आउनुभयो, भूगोलको वास्तविकता फरक देखिएको छ।’
राहत वितरण प्रणाली नै कमजोर रहेको उल्लेख गर्दै राईले आवश्यकतामा रहेका धेरै नागरिकले अझै राहत पाउन नसकेको बताए।
‘जति पनि आवश्यक मानिसहरू हुनुहुन्छ, उहाँहरूले राहत नपाइरहेको अवस्था छ। राहत एक ठाउँ गएर डम्प भएको छ भने यसको वितरण प्रक्रिया राम्रो हुन सकेको छैन,’ उनले भने।
विपद् व्यवस्थापनमा सरकार एक्लैले नभई स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल तथा नागरिक प्रतिनिधिसहित सबै पक्षसँग समन्वय गरेर अघि बढ्नुपर्ने राईको सुझाव छ।
उनले तत्काल प्रभावित क्षेत्रको यथार्थ तथ्यांक संकलन गर्न सरकारलाई आग्रह गरे। विपद् आउनुअघिको जनसंख्या, हाल सम्पर्कमा रहेका नागरिक, सुरक्षित स्थानमा पुगेका व्यक्ति, बेपत्ता, मृतक तथा पहिचान हुन नसकेका व्यक्तिको विवरण यकिन गर्नुपर्ने उनले बताए।
यस्ता विवरण स्थानीय तह, सुरक्षा निकाय तथा स्थानीय नागरिक प्रतिनिधिसँग उपलब्ध हुने भएकाले सबै संयन्त्रलाई परिचालन गरी एकीकृत रूपमा तथ्यांक संकलन र व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
राईले शव व्यवस्थापनलाई समेत सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। शव सुरक्षित राख्न आवश्यक उपकरण तथा पूर्वाधारको अभाव भए विज्ञहरूसँग परामर्श गरी उपयुक्त वैकल्पिक विधि अपनाउन उनले सरकारलाई आग्रह गरे।
विपद्को समयमा सबै राजनीतिक दल र पक्ष एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने निष्कर्ष कांग्रेस संसदीय दलको बैठकले निकालेको उनले जानकारी दिए।
यसैबीच, कांग्रेसले आफ्ना सांसदहरूलाई बाढी प्रभावित क्षेत्रमा अनावश्यक भीडभाड नगर्न निर्देशन दिएको छ। राहत तथा उद्धारको काममा बाधा पुग्ने गरी केवल फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने उद्देश्यले प्रभावित क्षेत्रमा नजान सांसदहरूलाई आग्रह गरिएको राईले बताए।
‘हाम्रा माननीयज्यूहरूलाई आवश्यकता पर्दा मात्र फिल्डमा जान अनुरोध गरेका छौँ। सामाजिक सञ्जालमा राख्नकै लागि मात्र जाने प्रवृत्ति न्यूनीकरण गर्न अनावश्यक भीडभाड नगर्न आग्रह गरिएको छ,’ उनले भने।
कांग्रेसले बाढीपीडितको उद्धार तथा राहतका लागि आवश्यक टोलीसमेत परिचालन गरिसकेको राईले जानकारी दिए।
प्रकाशित मिति: १५ भाद्र २०८३, सोमबार











प्रतिक्रिया