सोल । कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधारमा विश्वव्यापी लगानी बढेसँगै मेमोरी चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातले अगस्टमा तीव्र वृद्धि हासिल गरेको छ।

दक्षिण कोरियाको व्यापार, उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्टमा देशको निर्यात गत वर्षको सोही अवधिको तुलनामा ६८.७ प्रतिशतले बढेर ९८.२५ अर्ब अमेरिकी डलर पुगेको छ। यो दक्षिण कोरियाको इतिहासकै तेस्रो उच्च मासिक निर्यात हो।

देशको मासिक निर्यात लगातार तेस्रो महिना ९० अर्ब डलरभन्दा माथि पुगेको हो। दैनिक औसत निर्यातसमेत ७२.५ प्रतिशतले बढेर ४.४७ अर्ब डलर पुगेको छ।

अगस्टमा दक्षिण कोरियाको आयात २२.५ प्रतिशतले बढेर ६३.५१ अर्ब डलर पुगेको छ। यससँगै व्यापार बचत ३४.७५ अर्ब डलर कायम भएको छ।

चिप निर्यातमा ऐतिहासिक उछाल

निर्यात वृद्धिको मुख्य आधार सेमिकन्डक्टर बनेको छ। दक्षिण कोरियाका २० प्रमुख निर्यात वस्तुमध्ये १४ वटाको निर्यात बढ्दा सेमिकन्डक्टर निर्यात मात्रै २०९ प्रतिशतले बढेर ४६.६५ अर्ब डलर पुगेको छ।

यो दक्षिण कोरियाको हालसम्मकै उच्च सेमिकन्डक्टर निर्यात हो। मन्त्रालयका अनुसार गुगल र अमेजनलगायत ठूला प्रविधि कम्पनीले एआई पूर्वाधारमा लगानी तीव्र पारेपछि मेमोरी चिपको माग र मूल्य दुवै बढेको छ।

अमेरिका र आसियानतर्फ पनि बलियो वृद्धि

अमेरिकातर्फको निर्यात ८९.३ प्रतिशतले बढेर १६.५० अर्ब डलर पुगेको छ। चिप, स्टिल, कम्प्युटर तथा पेट्रोलियम पदार्थको मागले यसमा योगदान गरेको हो।

त्यस्तै, आसियानतर्फको निर्यात ७५.४ प्रतिशतले बढेर १९.०९ अर्ब डलर तथा युरोपेली सङ्घतर्फको निर्यात १४.६ प्रतिशतले बढेर ६.६२ अर्ब डलर पुगेको छ।

आयाततर्फ कच्चा तेल, प्राकृतिक ग्यास र कोइलासहित प्रमुख तीन ऊर्जा स्रोतको आयात १५.३ प्रतिशतले बढेर १२.६८ अर्ब डलर पुगेको छ। सेमिकन्डक्टर उत्पादन उपकरणको माग बढ्दा गैरऊर्जा वस्तुको आयात पनि २४.४ प्रतिशतले बढेर ५०.८३ अर्ब डलर पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com