भदौ १० गते आएको विनाशकारी बाढीका कारण विद्यालय भवन ध्वस्त भएपछि प्रभावित विद्यार्थीलाई यथाशीघ्र विद्यालय फर्काउने र उनीहरूमा परेको मनोवैज्ञानिक असर कम गर्दै पढाइलाई निरन्तरता दिने उद्देश्यले फाउन्डेसनले आपत्कालीन सहयोग अघि बढाएको हो।
फाउन्डेसनले विद्यालयमा डिजिटल कक्षाको अवधारणाअनुसार पठनपाठन सञ्चालन गर्न आवश्यक पूर्वाधार तथा शैक्षिक सामग्री उपलब्ध गराउने जनाएको छ। त्यसअन्तर्गत स्मार्ट बोर्ड, डेस्कटप, ल्यापटप, प्रोजेक्टर र इन्टरनेटको व्यवस्था गरिनेछ।
त्यसैगरी, कक्षाकोठाका लागि आवश्यक फर्निचरसमेत उपलब्ध गराइनेछ। काठमाडौंमा तयारी अवस्थामा रहेका फर्निचर विद्यालयसम्म पुर्याउने तथा विद्यार्थीका लागि स्कुल ब्याग र स्टेसनरी सामग्री उपलब्ध गराउने फाउन्डेसनको तयारी छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार तत्काल पठनपाठन सञ्चालन गर्न वैकल्पिक भवनको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ। वैकल्पिक भवन उपलब्ध भएपछि त्यहीँबाट कक्षा सञ्चालन गर्न फाउन्डेसनले आवश्यक सहयोग गर्नेछ।
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा बाढी आउनुअघि करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत थिए। भदौ १० गतेको बाढीले विद्यालय भवनमा ठूलो क्षति पुर्याएपछि नियमित पठनपाठन प्रभावित भएको हो।
चौधरी फाउन्डेसनका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउँदै उनीहरूको शिक्षालाई निरन्तरता दिन आफूहरू तत्काल विद्यालय सञ्चालनमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘हामी बाढी प्रभावित क्षेत्रका बालबालिकालाई मनोवैज्ञानिक असरबाट जोगाउन र उनीहरूको पढाइप्रति संवेदनशील बन्दै आपत्कालीन सहयोग कार्यक्रमअन्तर्गत त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा जतिसक्दो चाँडो पठनपाठन अगाडि बढाउन चाहन्छौँ।’
विद्यालय सञ्चालनका लागि आवश्यक भौतिक तथा शैक्षिक सामग्री यथाशीघ्र हस्तान्तरण गर्ने तयारी रहेको उनले बताए।
विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउने विषयमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र प्रधानाध्यापक राजेन्द्र दवाडीबीच भदौ १५ गते छलफल भएको थियो। उक्त छलफलपछि विद्यालय सञ्चालनका लागि आवश्यक वातावरण तयार पार्ने काम अघि बढाइएको फाउन्डेसनले जनाएको छ।
प्रधानाध्यापक दवाडीले फाउन्डेसनको सहयोगले बाढीबाट प्रभावित विद्यार्थीको पठनपाठन पुनः सुरु गर्न ठूलो सहयोग पुग्ने बताए।
उनले भने, ‘चौधरी फाउन्डेसनले विद्यालय सञ्चालनका लागि गर्नुभएको सहयोगले हाम्रा विद्यार्थीको जीवनमा सकारात्मक प्रभाव पर्नेछ। हामीले वैकल्पिक भवनको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइसकेका छौँ। भवन व्यवस्थापन हुनासाथ फाउन्डेसनबाट भौतिक तथा शैक्षिक सामग्री प्राप्त हुनेछ।’
विद्यालय परिवारले सहयोगका लागि चौधरी फाउन्डेसनप्रति आभार व्यक्त गरेको छ।
प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया