काठमाडौं। बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहँदा सडेगलेका शवलाई सरकारले अस्थायी रूपमा गाडेर व्यवस्थापन गरेको छ। शव गाड्नुअघि प्रत्येक मृतकको डीएनए नमुना संकलन गरी सुरक्षित राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले परिवारले पछि विवरण मिलान गर्न सक्ने गरी स्वास्थ्य टोलीले शव गाड्नुअघि डीएनए नमुना लिएको जानकारी दिए। आवश्यक परे परिवारको पहिचान तथा धार्मिक संस्कारका लागि अस्थायी रूपमा गाडिएका शव उत्खनन गर्न अनुमति दिइने उनले बताए।

प्रवक्ता पौडेल क्षेत्रीका अनुसार शव व्यवस्थापन गर्दा सरकारले तय गरेका मापदण्ड तथा निर्देशिकाको पूर्ण पालना गरिएको छ।

९०३ शव निकालिए, ४ हजार २०० अझै बेपत्ता

मन्त्रालयका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट ९०३ वटा शव निकालिएको छ भने करिब ४ हजार २०० जना अझै बेपत्ता छन्। उद्धार गरिएकामध्ये ३२३ जना विदेशी नागरिकसहित १० हजारभन्दा बढी व्यक्ति रहेको मन्त्रालयले जनाएको छ।

उपलब्ध तथ्यांकअनुसार ३८ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन छन्।

भारतको फोरेन्सिक टोली नेपालमा

शव पहिचान तथा व्यवस्थापनका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोगसमेत परिचालन गरेको छ। भारतबाट डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको १८ सदस्यीय फोरेन्सिक टोली अगस्ट २९ देखि नेपालमा आएर काम गरिरहेको छ।

त्यस्तै, सिङ्गापुरबाट विपद् पीडित पहिचान (डीभीआई) टोली परिचालन गर्ने विषयमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

शव व्यवस्थापनका लागि नेपालले एयर–टाइट ब्यागसमेत प्राप्त गरेको छ भने थप आवश्यक सामग्री आउने क्रममा रहेको प्रवक्ता पौडेल क्षेत्रीले बताए।

भारत, चीन र दक्षिण कोरियाका टोली परिचालन

बेपत्ता व्यक्तिको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले उपलब्ध स्रोत–साधन परिचालन गरिरहेको जनाएको छ।

भारतबाट आएको विशेष प्राविधिक टोली मैलुङ, चिलिमे र स्याफ्रुबेँसी क्षेत्रमा परिचालित छ। चीनबाट आएको टोली माथिल्लो त्रिशूली–३ ‘ए’को लुकु क्षेत्रमा तथा दक्षिण कोरियाबाट आएको टोली पनि प्रभावित क्षेत्रमा खटिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार भारत, चीन, संयुक्त अरब इमिरेट्सलगायत विभिन्न देशबाट टेन्ट, कम्बल, स्लिपिङ ब्याग, खाद्यान्न, औषधि, जेनेरेटर, फ्रिजर, सोलार बत्ती तथा डीएनए परीक्षण किटलगायत सामग्री प्राप्त भएका छन्।

यसैबीच, प्रभावित क्षेत्रको क्षति तथा आवश्यकताको प्रारम्भिक मूल्यांकन भइरहेको र विस्तृत विपद्पश्चात्को आवश्यकता मूल्यांकन (पीडीएनए) गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

प्रवक्ता पौडेल क्षेत्रीले विपद्सम्बन्धी समाचार तथा तथ्यांकका लागि आधिकारिक र प्रमाणित स्रोतलाई मात्र आधार बनाउन सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रह गरेका छन्। उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा थप प्रमाणित तथ्यांक मन्त्रालयको आधिकारिक माध्यमबाट सार्वजनिक गरिने उनले बताए।

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com