काठमाडौं । नेकपा (एमाले)ले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४० सदस्यीय विशेष समिति गठन गरेको छ।

एमाले सचिव महेश बस्नेतको संयोजकत्वमा ‘बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति’ गठन गरिएको हो। समितिले विपद् प्रभावित नागरिकको जीवनरक्षा, तत्काल आवश्यक राहत सामग्रीको संकलन तथा वितरण र पुनःस्थापनाका लागि आवश्यक काम अघि बढाउनेछ।

उद्धार तथा राहत अभियानलाई प्रभावकारी बनाउन एमालेले विभिन्न जिल्ला तथा केन्द्रीय तहमा नेताहरूलाई जिम्मेवारीसमेत तोकेको छ। जसअनुसार रसुवाको संयोजन विनोद श्रेष्ठ, नुवाकोटको रूपनारायण श्रेष्ठ तथा धादिङ र चितवनको संयोजन रमेश आचार्यलाई दिइएको छ।

केन्द्रीय तहमा संघीय सरकारसँग समन्वय गर्ने जिम्मेवारी डा. राजन भट्टराईलाई तोकिएको छ। त्यस्तै प्रचारप्रसारको संयोजन नीरज आचार्य, आर्थिक व्यवस्थापन डा. भीष्म अधिकारी, स्वयंसेवक परिचालन विनोद श्रेष्ठ, कार्यालय व्यवस्थापन नारायण सिलवाल र राहत सामग्री संकलनको संयोजन कैलाश ढुंगेलले गर्नेछन्।

समितिले पार्टीका विभिन्न जनसंगठन तथा कमिटीहरूलाई परिचालन गरी राहत तथा उद्धारका काम अघि बढाउने एमालेले जनाएको छ।

प्रभावित क्षेत्रमा तत्काल आवश्यकताको पहिचान गरी राहत सामग्री संकलन, ढुवानी तथा वितरण गर्नुका साथै पीडित परिवारको पुनःस्थापनाका लागि सरकारी निकाय, स्थानीय तह र पार्टीका सबै तहका कमिटीसँग समन्वय गरिनेछ।

एमालेले प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई समेत प्रत्यक्ष रूपमा उद्धार तथा राहत अभियानमा परिचालन हुन निर्देशन दिएको छ।

विपद्मा परेका नागरिकको जीवनरक्षा र राहतलाई प्राथमिकतामा राख्दै एमालेको केन्द्रीय उद्धार तथा राहत टोली बुधबार बिहान ११ बजे नुवाकोट र दिउँसो १ बजे रसुवातर्फ प्रस्थान गर्ने तयारी गरिएको छ।

यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले विपद्को कठिन परिस्थितिमा सबै पक्षलाई एकजुट भएर उद्धार तथा राहत अभियानमा जुट्न आह्वान गरेका छन्।

ओलीले भनेका छन्, ‘विपद्को यस कठिन घडीमा सम्पूर्ण पार्टी पङ्क्ति, जनसंगठन, जनप्रतिनिधि, नागरिक समाज तथा सहयोगी हातहरूलाई उद्धार र राहत अभियानमा एकजुट भई जुट्न हार्दिक आह्वान गर्दछु।’

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com