काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ नामक संस्थाको वैधानिकता, गतिविधि र सञ्चालन स्रोतबारे गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले विद्यालयस्तरमा शाखा विस्तार गरिएको र ५२ जिल्लामा संगठनको सञ्जाल रहेको दाबी गरिएको संस्थाको आर्थिक तथा सञ्चालन स्रोत के हो भन्नेबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्।
उनले उक्त संगठनलाई नेपाली सेनाले तालिम दिएको दाबीसहित सार्वजनिक भएका तस्बिरहरूप्रति समेत चासो व्यक्त गरेका छन्।
पोखरेलले नेपाली सेनाको पहलमा विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन हुने विषय सर्वविदित रहेको उल्लेख गर्दै सेवा दलको सट्टा ‘ग्रीन आर्मी’ जस्तो संगठन निर्माण गर्न खोजिएको हो कि भन्ने प्रश्न गरेका छन्।
‘नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन गर्ने कुरा सबैलाई थाहा थियो। तर सेवा दलको सट्टा ग्रीन आर्मी बनाउन थालिएको हो? यदि होइन भने सेनाको संरचनाजस्तै देखिने प्रकृतिको संगठन खोल्न र विस्तार हुन दिनु कत्तिको उचित हो?’ उनले प्रश्न गरेका छन्।
उनले यस विषयमा सरकारले तत्काल स्पष्ट धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।
महासचिव पोखरेलले विपद् उद्धारका लागि स्थापना भएको बताइएको उक्त संगठन मुलुक महाविपद् र उच्च जोखिमको अवस्थामा रहेका बेला भने कहाँ थियो भन्ने प्रश्नसमेत उठाएका छन्। जोखिमको अवस्था कम भएपछि एक सातापछि मात्र प्रदर्शनजस्तो शैलीमा मैदानमा देखिनु स्वाभाविक नभएको उनको टिप्पणी छ।
यस्ता गतिविधिले वास्तविक राहत र सहयोगभन्दा समाजमा शंका र त्रास फैलाउन सक्ने भन्दै पोखरेलले सम्बन्धित सरकारी तथा सुरक्षा निकायले तत्काल यस विषयमा ध्यान दिनुपर्ने बताएका छन्।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार












प्रतिक्रिया