काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २ सय १७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन, उद्धार तथा राहतका लागि कोषमा रहेको रकम र त्यसबाट भएको निकासासम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार सरकारले विपद् व्यवस्थापनका कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
उक्त रकममध्ये प्राधिकरणले हालसम्म विपद्बाट प्रभावित १५ वटा स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइसकेको प्रधानमन्त्री शाहले बताए।
प्रभावित क्षेत्रका स्थानीय तहमा राहत, उद्धार र प्रारम्भिक पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारले प्रत्यक्ष रूपमा बजेट उपलब्ध गराएको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन गर्दै नागरिकको जिउधनको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको उल्लेख गरे।
उनले राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन संघीय सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी काम भइरहेको पनि बताए।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार











प्रतिक्रिया