दा नाङ, भियतनाम । तेस्रो संस्करणको पिकलबल विश्वकप–२०२६ मा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। भियतनामको दा नाङमा जारी विश्वकपअन्तर्गत नेपाली खेलाडी दावा शेर्पाले पुरुष एकलतर्फ कास्यपदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय पिकलबलको प्रतिष्ठित मञ्चमा पहिलो पदक दिलाएका छन्।
विश्वकपमा नेपालसहित विश्वका ६४ देशका खेलाडी तथा टोलीको सहभागिता रहेको छ। विश्वकपको सुरुवातमै नेपाली खेलाडीले पदक जित्न सफल हुनुलाई नेपाली पिकलबलको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
पुरुष एकलतर्फ प्रतिस्पर्धा गरेका दावा शेर्पाले सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा झिनो अन्तरले पराजय व्यहोरेका थिए। सेमिफाइनलमा पराजित भए पनि उनले उत्कृष्ट मानसिकता र खेल कौशल प्रस्तुत गर्दै तेस्रो स्थानका लागि भएको खेलमा प्रभावशाली प्रदर्शन गरे।
तेस्रो स्थानका लागि भएको निर्णायक खेलमा शेर्पाले ब्राजिलका खेलाडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै कास्यपदक सुनिश्चित गरेका हुन्। दुई सेटमै विपक्षीलाई नियन्त्रणमा राख्दै हासिल गरेको जितले शेर्पाको विश्वस्तरीय प्रदर्शनलाई थप पुष्टि गरेको छ।
पुरुष एकलतर्फ स्वर्ण पदक मंगोलिया, रजत पदक जापान र कास्य पदक नेपालले हात पारेका छन्। यससँगै दा नाङमा नेपालको सहभागिता पदकसहित सुरु भएको छ।
‘ऐतिहासिक सफलताको सुरुवात’
पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले विश्वकपको सुरुवातमै नेपालले कास्यपदक जित्नु नेपाली पिकलबलका लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक सफलताको सुरुवात भएको बताएका छन्।
भण्डारीका अनुसार विश्वका ६४ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले पदक हासिल गर्नुले नेपालमा पिकलबलको विकास र विस्तारका लागि ठूलो सम्भावना रहेको संकेत गरेको छ।
‘विश्वकपको सुरुवातमै नेपालले कास्यपदक जित्नु हाम्रो लागि निकै ठूलो ऐतिहासिक सफलताको सुरुवात हो। यस उपलब्धिले नेपाली पिकलबलमा रहेको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमै प्रमाणित गरेको छ। आगामी दिनमा अझ व्यवस्थित प्रशिक्षण, खेलाडी विकास र अन्तर्राष्ट्रिय सहभागितामार्फत नेपालले थप महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास लिएका छौं,’ अध्यक्ष भण्डारीले भने।
पिकलबल पछिल्लो समय नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको खेल हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता बढ्दै जाँदा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको उपस्थिति प्रभावकारी बन्दै गएको छ। दावाको यो उपलब्धिले नेपाली खेलाडीमा आत्मविश्वास बढाउनुका साथै नयाँ पुस्तालाई पिकलबलतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विश्वका ६४ देश सहभागी प्रतियोगितामा नेपालको झण्डा बोकेर प्रतिस्पर्धा गरेका दावाले हासिल गरेको कास्यपदकलाई नेपाली पिकलबलको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
दा नाङमा जारी तेस्रो पिकलबल विश्वकपमा नेपालले हासिल गरेको यो ऐतिहासिक पदकले नेपाली पिकलबलको आगामी यात्राका लागि नयाँ सम्भावनाको ढोका खोलिदिएको छ। विश्वकपको पहिलो चरणमै पदक जितेको नेपालले आगामी प्रतिस्पर्धामा अझ उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार











प्रतिक्रिया