काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्रीले सबै राजनीतिक दल र सांसदलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो दलको तर्फबाट सम्बोधन गर्दै प्रचण्डले विपद्पछि प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर जानकारी दिनु सकारात्मक कदम भए पनि उनको समग्र कार्यशैलीमा सुधार आवश्यक रहेको धारणा राखे।
प्रधानमन्त्रीले राज्य सञ्चालनका क्रममा अन्य राजनीतिक दल, सांसद तथा अनुभवी व्यक्तिहरूको सुझाव र अनुभवलाई समेत महत्व दिनुपर्ने उनले बताए।
‘अरूलाई पनि विश्वासमा लिनुपर्छ र अरूका अनुभव पनि महत्त्वपूर्ण हुन सक्छन् भन्ने विषयमा ध्यान जानुपर्छ,’ प्रचण्डले भने।
उनले संसद्लाई विश्वासमा लिनु भनेको प्रतिपक्षी दललाई मात्र सम्बोधन गर्नु नभई आफ्नै दलका सांसद र सत्तापक्षीय प्रतिनिधिहरूसँग समेत पर्याप्त समन्वय गर्नु भएको बताए।
‘कार्यशैली हेर्दा आफ्नै दलका सांसदहरूलाई समेत विश्वासमा लिएर अघि बढ्ने प्रयत्न गरेको मैले देखिनँ,’ उनले टिप्पणी गरे।
प्रधानमन्त्रीको संसद् उपस्थितिको शैलीप्रति समेत प्रचण्डले असन्तुष्टि जनाए। प्रधानमन्त्री संसद्मा आएर अन्य सांसद वा दलका नेतासँग संवाद नगरी फर्कने गरेको उल्लेख गर्दै उनले यस्तो व्यवहार प्रधानमन्त्रीको पदको गरिमाअनुकूल नभएको बताए।
‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो?’ उनले प्रश्न गरे।
प्रधानमन्त्री कुनै एक दल वा समूहको मात्र नभई सम्पूर्ण देश र सबै राजनीतिक शक्तिको प्रधानमन्त्री हुने भएकाले सबैलाई साथमा लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
‘प्रधानमन्त्री त सबैको प्रधानमन्त्री हो नि। सबैले सरकारलाई सहयोग गर्न चाहन्छौँ,’ प्रचण्डले भने।
पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा सरकारले राजनीतिक दल, संसद् र सरोकारवालासँग समन्वय र संवाद बढाउँदै सामूहिक सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताए।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार











प्रतिक्रिया