काठमाडौं । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको विपद् व्यवस्थापनमा सरकारको भूमिका र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले राष्ट्रिय संकटको समयमा सरकारले राजनीतिक दल, संसद् र राज्यका अन्य संयन्त्रसँग सहकार्य र समन्वयको भावना देखाउन नसकेको टिप्पणी गरे।
प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर बाढीपछिको अवस्थाबारे जानकारी दिनु सकारात्मक भए पनि उनको व्यवहारमा आवश्यक विनम्रता र सहकार्यको भावना नदेखिएको प्रचण्डको आरोप थियो।
‘प्रधानमन्त्रीजी यहाँ आएर ब्रिफिङ गर्नुभयो, त्यसका लागि धन्यवाद,’ उनले भने, ‘तर उहाँ यहाँ बोल्नुभयो र हिँड्नुभयो। उहाँले हाम्रो मुखसमेत हेर्न चाहनुभएन। यस्तो व्यवहारले सहकार्य कसरी हुन सक्छ?’
प्रचण्डले विपद् व्यवस्थापनका क्रममा सरकारले नेपाली सेनाको परिचालनमा बढी जोड दिएको तर राज्यका सम्पूर्ण उपलब्ध संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको आरोप लगाए।
उनले राष्ट्रिय संकटको सामना गर्न सेना मात्र नभई सबै सुरक्षा निकाय, सरकारी संयन्त्र, राजनीतिक दल, स्थानीय तह र नागरिक समाजबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
प्रधानमन्त्री र सरकारका प्रतिनिधिहरूले सार्वजनिक रूपमा जानकारी दिनुपर्ने विषयसमेत सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्ने गरेको भन्दै प्रचण्डले त्यसप्रति पनि असन्तुष्टि जनाए।
‘तपाईंहरूले बोल्नुपर्ने कुरा सामाजिक सञ्जालबाट भन्दै हुनुहुन्छ,’ उनले भने, ‘सामाजिक सञ्जालबाट चुनाव त जित्नुभयो, तर देशलाई यस्तो संकटबाट पार लगाउन सक्नुहुन्न।’
पूर्वप्रधानमन्त्री प्रचण्डले विपद्जस्तो गम्भीर अवस्थामा प्रचारमुखी शैलीभन्दा संस्थागत समन्वय, संवाद र राज्यका सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालन आवश्यक रहेकोमा जोड दिए।
प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार











प्रतिक्रिया