काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तय गर्ने विषयमा पार्टीभित्र छलफल तीव्र बनेको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव अघि सारेको छ।

काठमाडौँको चुनदेवीमा जारी देउवा पक्षको बैठकमा महाधिवेशनको प्रस्तावित मितिसँगै त्यसअघि पार्टीका विभिन्न तहमा सम्पन्न गर्नुपर्ने अधिवेशन र निर्वाचनको विस्तृत कार्यतालिकामाथि छलफल भइरहेको छ।

देउवा पक्षले अघि सारेको प्रस्तावअनुसार पार्टीको वडा अधिवेशन असोज १५ गते सम्पन्न गरिनेछ। त्यसपछि असोज २० गते पालिका तहको अधिवेशन गर्ने तयारी गरिएको छ।

यस्तै, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।

कार्यतालिकाअनुसार कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गरिनेछ।

विभिन्न तहका अधिवेशन तथा निर्वाचनको प्रक्रिया पूरा गरेपछि मंसिर २१, २२ र २३ गते नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजना गर्ने देउवा पक्षको प्रस्ताव छ।

चुनदेवीमा जारी बैठकमा महाधिवेशनको तयारी, संगठनात्मक गतिविधि तथा अधिवेशनको कार्यतालिकालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ।

पार्टीभित्र महाधिवेशनको मिति र निर्वाचन कार्यतालिकालाई अन्तिम रूप दिन विभिन्न पक्षबीच परामर्श र छलफल जारी छ।

देउवा पक्षको प्रस्तावित कार्यतालिका कार्यान्वयन भएमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी मंसिरमै सम्पन्न हुने सम्भावना बढ्नेछ। यद्यपि महाधिवेशनको मिति र कार्यतालिकाबारे पार्टीको औपचारिक निर्णय हुन भने बाँकी छ।

प्रकाशित मिति: १७ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com