काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले बाढी तथा अन्य विपद्को व्यवस्थापन, उद्धार र राहतमा सरकार प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोप लगाएका छन्।

शुक्रबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।

देश गम्भीर विपद्को अवस्थामा रहे पनि सरकारका नेतृत्वकर्ताले प्राथमिकता पहिचान गर्न नसकेको उनको आरोप छ। प्रधानमन्त्रीले संसद्मा प्रतिबद्धता र आश्वासन दिए पनि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि अपेक्षित सक्रियता नदेखाएको बस्नेतले दाबी गरे।

गृहमन्त्री गुरुङको भूमिकामाथि टिप्पणी गर्दै उनले केन्द्रमा बसेर आवश्यक स्रोतसाधन परिचालन गर्नुपर्ने गृहमन्त्री स्वयं सुरुङमा गएर उद्धारमा संलग्न भएको भन्दै आलोचना गरे।

‘केन्द्रमा बसेर नीतिगत निर्णय र स्रोतसाधनको परिचालन गर्नुपर्ने गृहमन्त्री आफैँ सुरुङमा गएर औँलाले खोस्रिएर बसिरहेका छन्,’ बस्नेतले भने, ‘हामीसँग भएका स्रोतसाधनको सदुपयोग गरिएको छैन र आवश्यक विदेशी सहयोग पनि लिइएको छैन।’

सरकारको ढिलासुस्ती र कमजोर तयारीका कारण विपद्मा ठूलो जनधनको क्षति भएको उनको दाबी छ। विशेषगरी विपद्को १० दिनपछि सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको घटनालाई उद्धार प्रणालीको कमजोरीको उदाहरणका रूपमा बस्नेतले प्रस्तुत गरे।

समयमै आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरिएको भए थप नागरिकको ज्यान जोगाउन सकिने उनको भनाइ छ।

संकटको समयमा नागरिकले सरकारको प्रभावकारी उपस्थिति महसुस गर्न नसकेको आरोप लगाउँदै बस्नेतले उद्धार तथा राहत कार्यलाई तत्काल थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com