काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाललाई १० मिलियन अमेरिकी डलर सहयोग गरेका छन्।
नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको जानकारी दिएका हुन्। नेपाली रुपैयाँमा यो रकम करिब १ अर्ब ३३ करोड रुपैयाँ बराबर हुन्छ।
भिडियो सन्देशमार्फत अर्थमन्त्री वाग्लेले ह्वाङलाई सहयोगका लागि धन्यवाद दिँदै यो योगदानले विपद्का बेला पीडितको सहयोगमा थप सहयोग जुटाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
वाग्लेका अनुसार ह्वाङको सहयोगपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
यसैबीच, नेपालले भोटेकोशी बाढीपछि विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाबाट राहत, उद्धार र आर्थिक सहयोग प्राप्त गरिरहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार भारतले पाँच चरणमा गरी ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ भने प्रभावित क्षेत्रमा उद्धारका लागि विज्ञ टोलीसमेत परिचालन गरेको छ।
चीनले ३० करोड रुपैयाँ तथा ५० टन राहत सामग्री उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा आवश्यक पर्ने ३० वटा बेली ब्रिज उपलब्ध गराउन नेपालले चीनसँग आग्रह गरेको पनि प्रधानमन्त्रीले बताएका छन्।
पाकिस्तानले ८६ टन राहत सामग्री उपलब्ध गराउने तयारी गरेको छ भने श्रीलङ्काले १ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बङ्गलादेशले राहत सामग्री पठाउने तयारी गरिरहेको छ।
त्यसैगरी, अमेरिकाले ५ लाख डलर र अस्ट्रेलियाले १ मिलियन डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अस्ट्रेलियाले विज्ञ तथा ड्रोन अपरेटरसहितको टोली नेपाल पठाउने तयारीसमेत गरेको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारले ४० टन राहत सामग्री उपलब्ध गराएको छ।
बेलायतले ५ मिलियन पाउन्ड सहयोग घोषणा गरेको छ। युरोपेली संघ, स्विट्जरल्यान्ड, डेनमार्क, जर्मनी, आयरल्यान्ड, चेक गणतन्त्र र नर्वेलगायतले पनि आर्थिक सहयोग घोषणा गरेका छन्।
फ्रान्सले बाढी प्रभावित २०० परिवारका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। लक्जमबर्ग र लात्भियाले पनि राहत सामग्री प्रदान गरेका छन्।
दीर्घकालीन पुनर्निर्माणका लागि विश्व बैंकले १६७ मिलियन डलर सहुलियतपूर्ण ऋणको प्रतिबद्धता जनाएको छ। एसियाली विकास बैंक (एडीबी) ले ५ मिलियन डलर बजेटरी सहायता तथा १ लाख ५० हजार डलर प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया