काठमाडौं । नेपालमा उद्धार तथा विपद् राहत कार्यलाई प्रभावकारी बनाउन चीनले नेपालसँग आपत्कालीन जलविज्ञान तथा मौसमसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने भएको छ।

चिनियाँ दूतावासका अनुसार नेपालमा सम्भावित प्राकृतिक विपद्का जोखिम पहिचान तथा पूर्वसूचना प्रवाहमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले जलविज्ञान र मौसमसम्बन्धी महत्त्वपूर्ण सूचना नियमित रूपमा उपलब्ध गराउनेछ।

यसअन्तर्गत नदीमा अचानक सिर्जना हुन सक्ने अवरोध (ब्यारियर), हिमताल विस्फोटन तथा हिमपहिरोजस्ता घटनाबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे आवश्यक जानकारी नेपाललाई उपलब्ध गराइनेछ। यस्ता सूचनाले सम्भावित जोखिमको पूर्वानुमान, पूर्वसूचना तथा विपद्को समयमा उद्धार र राहत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चीन–नेपाल जोड्ने केरुङ–रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि चिनियाँ मौसम अधिकारीहरूले नेपाललाई मौसमी निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा प्रभावमा आधारित मौसमसम्बन्धी सेवाहरू निरन्तर उपलब्ध गराउँदै आएका छन्।

विशेषगरी सीमावर्ती क्षेत्रमा प्राकृतिक विपद्का कारण नदीको बहावमा अवरोध सिर्जना हुने, बाढी तथा पहिरोको जोखिम बढ्ने र हिमाली क्षेत्रमा हिमताल विस्फोटन तथा हिमपहिरोको सम्भावना रहने भएकाले यस्ता सूचनालाई महत्त्वपूर्ण मानिएको छ।

विपद्पछिको जोखिम न्यूनीकरण तथा आवश्यक प्राविधिक समन्वयका लागि चीनको मौसम प्रशासनले तत्कालै नेपालको जल तथा मौसम विज्ञान विभागसँग भिडियोमार्फत परामर्शसमेत गरेको थियो।

उक्त परामर्शमा विपद्का सम्भावित जोखिम, मौसम तथा जलविज्ञानसम्बन्धी निगरानी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने विषयमा आवश्यक प्राविधिक छलफल गरिएको चिनियाँ दूतावासले जनाएको छ।

नेपालमा पछिल्लो समय बाढी, पहिरो, हिमपहिरो तथा हिमताल विस्फोटनजस्ता प्राकृतिक विपद्का जोखिम बढिरहेका बेला चीनबाट प्राप्त हुने नियमित जल–मौसमसम्बन्धी सूचना जोखिम न्यूनीकरण, पूर्वतयारी तथा उद्धार कार्यमा उपयोगी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com