काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले विपद्मा परेका रसुवा र नुवाकोटका नागरिकलाई सहयोग गर्ने नाममा प्रयोग भइसकेका तथा फाल्नुपर्ने लुगाफाटा र सामान नदिन आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत झाँक्रीले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न चाहने दाताले नयाँ तथा प्रयोग गर्न मिल्ने लुगा, भाँडावर्तन लगायतका आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने बताएकी हुन्।

उनले रसुवा र नुवाकोटका विपद् प्रभावित नागरिकलाई ‘पुराना थोत्रा लुगा लगाउने मानिस’का रूपमा नहेर्न आग्रह गरेकी छन्। विपत्तिका कारण उनीहरूको अवस्था अहिले फरक भए पनि विगतमा आर्थिक रूपमा सक्षम परिवार तथा व्यक्ति रहेको उल्लेख गर्दै झाँक्रीले दाताहरूलाई प्रश्न गरेकी छन्, ‘के सोचेर यस्ता लुगा दिएको तिमीहरूले?’

झाँक्रीले सामाजिक सञ्जालमा लाइक, भ्युज, डलर र सामाजिक प्रतिष्ठा देखाउनकै लागि सहयोगको नाममा पुराना सामान वितरण नगर्न पनि आग्रह गरिन्।

उनका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीले समेत काम नलाग्ने थोत्रा सामग्री नदिन दाताहरूलाई कडा निर्देशन दिएका छन्। विपद् प्रभावित क्षेत्रमा यस्ता सामग्री थुपारेर व्यवस्थापन गर्न कठिन हुने भन्दै उनले आवश्यक र उपयोगी सामग्री मात्रै सहयोग गर्नुपर्नेमा जोड दिएकी छन्।

झाँक्रीले सामाजिक सेवाका नाममा सामाजिक सञ्जालमा भ्युज, लाइक र आर्थिक लाभ लिन तथा आफ्नो सामाजिक हैसियत प्रदर्शन गर्न आउने प्रवृत्तिको समेत आलोचना गरेकी छन्। उनले यस्ता गतिविधिलाई अब सार्वजनिक रूपमा ‘एक्सपोज’ गर्नुपर्ने धारणा राखेकी छन्।

प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com