काठमाडौं। चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली र भारतीय सेनाको टोलीले प्रयास जारी राखेको छ।
भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल विच्छेदका कारण उद्धारका लागि आवश्यक जनशक्ति, उपकरण र सामग्री घटनास्थलसम्म पुर्याउन कठिनाइ भइरहेको छ।
हाल नेपाली र भारतीय सेनाका २१ जना सुरुङभित्र प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन्। २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ।
म्यानुअल रूपमा मात्रै उद्धार अघि बढाउन कठिन भएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउने तयारी भइरहेको छ। त्यसका लागि स्याफ्रुबेँसीदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण थालिएको छ।
सुरुङकै बाटोबाट एक्स्काभेटर लैजान सकिने विकल्पमा समेत काम भइरहेको छ। त्यसका लागि सुरुङभित्र बाँकी रहेको माटो तथा भग्नावशेष हटाउने कार्य जारी छ।
ठूला हेलिकोप्टर अवतरण गर्न नसकिने भएकाले साना हेलिकोप्टरमार्फत आवश्यक उपकरण तथा सामग्री घटनास्थल पुर्याउने प्रयास भइरहेको छ।
भौगोलिक अवस्था र पूर्वाधारको अभावले उद्धार चुनौतीपूर्ण बने पनि पहुँच सडक निर्माण, उपकरण पुर्याउने र सुरुङ सफा गर्ने कामलाई प्राथमिकताका साथ निरन्तरता दिइएको उद्धार टोलीले जनाएको छ।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया