काठमाडौं। खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धिप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बदन भण्डारीले असन्तुष्टि जनाउँदै संसद्मा विरोध गर्ने बताएका छन्।
भदौ १० गतेको बाढीपहिरोपछि मुख्य सडकमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको भन्दै ग्यास उद्योगीले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाएका छन्। मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा ग्यासको मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ।
उद्योगीहरूले वैकल्पिक तथा कठिन सडकमार्ग हुँदै ग्यास ढुवानी गर्नुपर्दा प्रतिसिलिन्डर करिब १८० रुपैयाँ लागत बढेको दाबी गरेका छन्। मूल्यवृद्धिलाई नेपाल आयल निगमले समेत अनुमति दिएको छ।
तर, ग्यासको मूल्य बढाउनुको आधारप्रति सांसद भण्डारीले प्रश्न उठाएका छन्। उनले भदौ २४ गते बस्ने प्रतिनिधिसभा बैठकमा मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनको विषय सशक्त रूपमा उठाउने बताए।
‘अहिले संसद् नभएकाले मात्र वातावरण शान्त देखिएको हो। आगामी २४ गतेपछि यी विषय सदनमा प्रवेश पाउनेछन्,’ भण्डारीले भने, ‘त्यसपछि विभागीय मन्त्री र निगमका कार्यकारी निर्देशकले वास्तविक दबाब महसुस गर्नुहुनेछ।’
ग्यासको मूल्यवृद्धिको बचाउ गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भने अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास महँगो नभएको दाबी गरेका छन्। करिब २१ सय रुपैयाँ पर्ने एक सिलिन्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्ने उनको तर्क छ।
ग्यासको मूल्य बढेसँगै बजारमा अभावसमेत देखिएको भन्दै आलोचना भइरहेका बेला रास्वपाभित्रैबाट विरोधको आवाज उठेको हो।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया