काठमाडौं। सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
स्वयंसेवी संस्था सुडान डक्टर्स नेटवर्कका अनुसार बिहीबार काउडाको दक्षिण र पश्चिममा पर्ने डेबी तथा लुवैरी क्षेत्रमा सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थ (एसपीएलएम–एन) का लडाकुले गरेको आक्रमणमा महिला तथा बालबालिकासहित २१ जनाभन्दा बढीको मृत्यु भएको थियो।
शुक्रबार बिहान डिलिङ सहरमा सोही समूहले गरेको तोप प्रहारमा एक बालकसहित पाँच जनाको मृत्यु भएको र अन्य घाइते भएको संस्थाले जनाएको छ।
डेबीस्थित एक ग्रामीण अस्पतालमा २० भन्दा बढी शव र ११ जना घाइतेलाई ल्याइएको चिकित्सकीय स्रोतले जनाएको छ। आक्रमणपछि मानवीय अवस्था थप बिग्रने आशंकामा स्थानीय बासिन्दा क्षेत्र छाड्न थालेका छन्।
सुडान डक्टर्स नेटवर्कले डेबी र लुवैरीमाथिको आक्रमणको निन्दा गर्दै यो अगस्टको अन्त्यमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको दाबी गरेको छ। आवासीय क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरिएको आरोपसमेत लगाइएको छ।
आरोपबारे एसपीएलएम–एनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
सुडानमा सरकारी सेना, अर्धसैनिक बल र विद्रोही समूहबीच लामो समयदेखि जारी संघर्षका कारण हजारौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन्। सन् २०२३ अप्रिलमा सुरु भएको द्वन्द्व अहिले चौथो वर्षमा प्रवेश गरेको छ।
प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार












प्रतिक्रिया