काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका उपनेता एवं सांसद गणेश पराजुलीले विपद्पछि अवरुद्ध सडक सञ्जाल र नागरिकको आवागमन यथाशीघ्र पुनःस्थापित गर्न सरकार सक्रिय रूपमा लागिरहेको बताएका छन्।
उनले भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटको विदुर–५, देवीघाटस्थित तादी खोलामाथिको करिब ५५ मिटर लामो पक्की पुलसहित नुवाकोट, रसुवा र धादिङका ३५ भन्दा बढी पुल बगाएको बताए।
‘विपद्पछि अवरुद्ध सडक सञ्जाल र नागरिकको आवागमनलाई यथाशीघ्र पुनःस्थापित गर्दै देशको सम्पर्क सञ्जाललाई प्रभावकारी बनाइराख्न सरकार सक्रिय रूपमा लागिरहेको छ,’ सामाजिक सञ्जालमा उनले भने।
बाढीले बगाएको पुलकै जगलाई उपयोग गर्दै देवीघाटमा अहिले बेली (एक्रो) ब्रिज जडानको काम तीव्र गतिमा भइरहेको छ। सडक विभागको प्राविधिक समन्वय तथा नेपाली सेनाको इन्जिनियरिङ टोलीको निरन्तर प्रयासबाट बाढी गएको करिब १० दिनमै पुलको मुख्य संरचना तयार हुने चरणमा पुगेको सांसद पराजुलीले बताए।
बाँकी प्राविधिक कामसमेत शीघ्र सम्पन्न गरी आगामी केही दिनमै पुलबाट सवारीसाधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिएका छन्।
उनले भने, ‘बाढी गएको करिब १० दिनमा सडक विभागको प्राविधिक समन्वय र नेपाली सेनाको इन्जिनियरिङ टोलीको अथक मेहनतबाट पुलको मुख्य संरचना तयार हुने चरणमा पुगेको छ। बाँकी प्राविधिक काम सम्पन्न भएपछि आगामी केही दिनमै सवारीसाधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।’
देवीघाटको पुल सञ्चालनमा आएपछि उद्धार तथा राहत सामग्रीको आवागमन सहज हुनुका साथै स्थानीय नागरिकको दैनिक जनजीवन र समग्र आर्थिक गतिविधिलाई पुनःगतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सांसद पराजुलीले विपद्को कठिन घडीमा दिनरात नभनी सडक सम्पर्क पुनःस्थापनाका लागि खटिएका नेपाली सेना, सडक विभाग, प्राविधिक, श्रमिक तथा सहयोगी सबैप्रति सम्मान व्यक्त गरेका छन्।
‘पुल सञ्चालन पश्चात उद्धार तथा राहत, दैनिक जनजीवन तथा समग्र आर्थिक गतिविधिलाई पुनःगतिशील बनाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भनेका छन्, ‘विपद्को कठिन घडीमा दिनरात नभनी खटिएर सडक सम्पर्क पुनःस्थापनाका लागि काम गरिरहनुभएका नेपाली सेना, सडक विभाग तथा निर्माणमा संलग्न सम्पूर्ण प्राविधिक, श्रमिक र सहयोगी हातहरूप्रति उच्च सम्मान।’
प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार












प्रतिक्रिया