काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुक्रबार बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेकी छन्।

सो अवसरमा उनले प्रभावित नागरिकको सुरक्षा, संरक्षण र स्थायी पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको उनको सचिवालयले जानकारी दिएको छ। मन्त्री बादीले विदुर-४ स्थित श्री युनाइटेड आधारभूत विद्यालय र तल्लो पिपलटारमा सञ्चालन गरिएको होल्डिङ सेन्टरको निरीक्षण गरेकी थिइन्। उनले त्यहाँ प्रभावित नागरिकको आवास, स्वास्थ्य, खाद्यान्न तथा अन्य आधारभूत सेवाको अवस्थाबारे जानकारी लिइन्।

अनुगमनका क्रममा उनले प्रभावित नागरिकसँग प्रत्यक्ष भेट गरी उनीहरूको तत्काल आवश्यकता र समस्याबारे पनि जानकारी लिएकी थिइन्।

मन्त्री बादीले महिला, बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिलाको विशेष सुरक्षा र संरक्षणमा ध्यान दिनुपर्ने बताइन्। प्रभावित महिलाका लागि छुट्टै सुरक्षित होल्डिङ सेन्टरको व्यवस्था, आवश्यकताअनुसार महिला प्रहरी परिचालन तथा सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित निकायसँग समन्वय गरिएको उनको भनाइ थियो।

उनले विपद्का कारण जोखिममा परेका र अभिभावकबाट छुट्टिएका बालबालिकाको पहिचान, सुरक्षित संरक्षण, पारिवारिक पुनर्मिलन तथा आवश्यक मनोसामाजिक सहयोगलाई विशेष प्राथमिकता दिनुपर्ने बताइन्। बालबालिकालाई असुरक्षित वातावरणमा वयस्कसँगै राख्न नहुने भन्दै उनीहरूको अवस्था र संरक्षण आवश्यकताअनुसार सुरक्षित व्यवस्थापन गर्नुपर्नेमा उनको जोड थियो।

अनुगमनका क्रममा मन्त्री बादीले कारागार कार्यालय, बाल सुधार गृह तथा आयुर्वेद र वैकल्पिक चिकित्सालयको पनि निरीक्षण गरेकी छन्। उनले ती स्थानको सुरक्षा, स्वास्थ्य तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी थिइन्।

मन्त्री बादीले प्रभावित नागरिकलाई तत्काल राहत र सुरक्षित आश्रय उपलब्ध गराउनुका साथै दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थायी पुनर्स्थापनाका लागि सरकारले योजना अघि बढाइरहेको बताइन्।

प्रभावित परिवारलाई सुरक्षित आवास, आधारभूत सेवा र जीविकोपार्जनका अवसरसँग जोडेर व्यवस्थित रूपमा पुनर्स्थापना गर्ने सरकारको योजना रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com