त्रिशूली (नुवाकोट)। भोटेकोशी बाढीले नुवाकोटका दुई पक्की पुलमा क्षति पुर्याएपछि विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने तादीखोलामा एक्रोब्रिज जडानको काम तीव्र पारिएको छ।
बाढीका कारण बेलकोटगढी हुँदै धादिङतर्फको यातायात सम्पर्क विच्छेद भएपछि नेपाली सेनाले देवीघाटमा एक्रोब्रिज निर्माण थालेको हो। श्री १४ नं. वाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले निर्माण गरिरहेको पुल पाँच दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चिरिञ्जीवी चौलागाईंले बताए।
पुल निर्माणका लागि ५५ जना प्राविधिक तथा जनशक्ति चौबिसै घण्टा खटिएका छन्। पुरानै जिप तथा अन्य सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी पुल निर्माण भइरहेको सेनाले जनाएको छ।
देवीघाटमा जडान हुने एक्रोब्रिज ५७.५ मिटर लामो र ५.५ मिटर चौडा छ। यसले ७० टनसम्म भार थेग्न सक्नेछ। बेलीब्रिजको प्रविधिलाई परिमार्जन गरी विकसित गरिएको यो पुल बलियो, टिकाउ र बढी भारवहन क्षमताको रहेको सेनाको भनाइ छ।
सेनाले नुवाकोटका पाँच स्थानमा पुल जडानका लागि सम्भाव्यता अध्ययन गरेको छ। देवीघाटपछि वेत्रावतीमा समेत एक्रोब्रिज जडान गरी नुवाकोट–रसुवा यातायात पुनः सञ्चालन गर्ने योजना छ।
धादिङको गजुरीस्थित भैरव गणमा मौज्दात रहेका ७५ मिटरका तीन एक्रोब्रिजमध्ये आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा प्रयोग गरिने सेनाले जनाएको छ।
निर्माण सामग्री गजुरीबाट काठमाडौं हुँदै नुवाकोट ल्याउनुपर्ने भएकाले ढुवानीमा केही चुनौती रहे पनि सामग्री नियमित रूपमा उपलब्ध भए निर्धारित पाँच दिनमै पुल सञ्चालनमा ल्याउने सेनाको लक्ष्य छ।
एक्रोब्रिज सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध नुवाकोट–धादिङ यातायात सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ।
तस्बिर :नेपाल फोटो लाइब्रेरी













प्रकाशित मिति: २१ भाद्र २०८३, आइतबार












प्रतिक्रिया