बाजुरा। अविरल वर्षासँगै खसेको पहिरोका कारण बाजुराको जनजीवन प्रभावित भएको छ। पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध हुनुका साथै विद्युत् सेवा समेत ठप्प हुँदा सदरमुकाम मार्तडी सम्पर्कविहीन बनेको हो।

बडीमालिका नगरपालिका–९ को कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधलगायत क्षेत्रमा पहिरो खसेपछि दुई दिनदेखि सडकमा यातायात ठप्प छ। मार्तडीबाट छुट्ने तथा सदरमुकाम भित्रिने सवारीसाधन बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार आइतबार जेसीबी प्रयोग गरेर पहिरो हटाउन थालिए पनि भारी वर्षाका कारण काम रोकिएको थियो। सोमबार बिहानदेखि सडक विभागको जेसीबी र स्काभेटर परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ।

पहिरोले ३३ केभी अछाम–मार्तडी प्रसारण लाइनका ३२ वटा विद्युत् पोल ढालेपछि शनिबार राति ९ बजेदेखि जिल्लाभर विद्युत् सेवा अवरुद्ध छ। बडीमालिका–९ सुवाकाँधमा सात र वीरेखोला–नुनेपानी क्षेत्रमा २५ पोल ढलेका छन्।

विद्युत् अवरुद्ध हुँदा सर्वसाधारणसँगै सरकारी तथा गैरसरकारी कार्यालय र उद्योग–व्यवसायसमेत प्रभावित भएका छन्।

पहिरोबाट बडीमालिका नगरपालिका–८ र ९ का विभिन्न स्थानमा दुई घर, चार गोठ, एक गाईगोठ र एक पक्की घरमा क्षति पुगेको छ।

सडक र विद्युत् सेवा पुनः सञ्चालनका लागि स्थानीय प्रशासन, सडक विभाग तथा विद्युत् प्राधिकरणका प्राविधिकसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला स्वयं प्रभावित क्षेत्रमा खटिएका छन्।

प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com